‘हिउँचितुवा नेपालको उच्च प्राथमिकतामा’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

हिउँचितुवा संरक्षणका लागि बासस्थान र आहारको अभावसँगै मानव–वन्यजन्तु द्वन्द्व चुनौतीका रूपमा रहे पनि नेपालले यो जन्तु संरक्षणमा उच्च प्राथमिकता दिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभएको छ।

सरकारको एक्लो प्रयासले मात्र हिउँचितुवा संरक्षण गर्न सम्भव नरहेकाले स्थानीय बासिन्दा र युवापुस्ताको सहभागितामा संरक्षण अभ्यास अघि बढाउने तयारी गरिएको उहाँको भनाइ छ। भारतको नयाँदिल्लीमा जारी ‘ग्लोबल स्नो लियोपार्ड एन्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी)’को चौथो स्थायी समिति बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो विचार व्यक्त गर्नुभएको हो।

हिउँचितुवाको अवैध चोरी शिकारी नियन्त्रणका लागि क्षेत्रीय संयन्त्रको खाँचो औल्याउँदै उहाँले नेपालले यो जन्तुको शिकार र अँगको व्यापारमा कडाइँ गरेको बताउनुभयो। नेपालले हिउँचितुवा संरक्षणका लागि पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमका करिब एक दर्जन क्षेत्रपहिचान गरेको छ भने हिउँचितुवा संरक्षणका लागि हिमालय अनुसन्धान केन्द्र स्थापना गर्ने गृहकार्य गरिरहेको छ।

नेपालमा साढे तीन सयदेखि पाँचसयका हाराहारीमा हिउँचितुवा रहेको अनुमान गरिएको छ। बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले हिउँचितुवासहित अन्य संरक्षित जीवजन्तुबाट मारिएका र घाइतेका परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गरेको अवगत गराउनुभयो।

बैठकमा हिउँचितुवा पाइने नेपालसहित चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान, मंगोलिया, रुसलगायतका मुलुकका सरोकारवाला मन्त्री र प्रतिनिधि सहभागी छन्।