काग : नेपालमा हाई हाई अरू देशमा बाई बाई !

0
Shares

टीका बन्धन, काठमाडौं।

यम पञ्चकको पहिलो दिन भोलि काग पूजा। कागको पूजा गरी मीठो परिकार खान दिएर काग तिहार मनाइन्छ। वैदिक सनातन हिन्दू धर्मअनुसार कागलाई यमदूत र सन्देश वाहकका रूपमा मानिन्छ, पुजिन्छ।काग तिहारका दिन यसको पूजा नगरी खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ।

तर हिन्दू धर्मावलम्बीले सम्मान गर्ने र पुज्ने कागलाई छिमेकी मुलुक भारत, मलेसिया, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकमा भने हेयका दृष्टिले हेरिन्छ। यतिसम्मकि काग मार्ने अभियान नै चलाइन्छ। नेपालसँग मिल्दो धार्मिक र सांस्कृतिक अभ्यास भएको भारतको वन्यजन्तु संरक्षण ऐन १९७२ ले कागलाई रोग फैलाउने र मार्न मिल्ने पन्छीका रूपमा सूचीकृत गरेको छ।

मलेसिया, सिंगापुर, अष्ट्रेलिया सहितका युरोपेली मुलुकमा कागको संख्या बढ्न नदिन सरकारले अभियान नै चलाउने गरेको नेपाल पन्छी संरक्षण संघ (बीसीएन)की प्रमुख कार्यकारी अधिकृत इशाना थापा बताउनुहुन्छ।

‘यस्ता देशमा फोहोरमैला बढाउने पन्छी भनेर काग चिनिन्छ, कसैले प्रशासनलाई कागले दुःख दिएको गुनासो गरेको खण्डमा तत्काल प्रशासनले संख्या नियन्त्रणका लागि कदम चाल्छ।’ –उहाँ भन्नुहुन्छ।

विश्वमा करिब ४० प्रजातिका काग अभिलेख भएका छन् भने नेपालमा विभिन्न पाँच प्रजाति फेला परेका छन्। बीसीएनकै अगुवाइमा काठमाडौं उपत्यकामा हुने गरेको शहरी पन्छी गणनामा परेवा पहिलो र कागको संख्या दोस्रो अग्रसूचीमा छ। तराईदेखि मध्यपहाड मानव बस्ती आसपासमा देखिने खैरो र कालो रङ मिश्रित काग घर काग हो।

पन्छीविद् डा. हेमसागर बराल भन्नुहुन्छ– ‘मान्छेको बसोबास नभएको स्थानमा घर काग पाइँदैन, घर कागलाई मान्छेले चाहेर/नचाहेर पनि साथीका रूपमा व्यवहार गरेको पाइन्छ।’
नेपालमा घर कागसहित कालो काग, टेमु, टुङ्गा र राजा कागसहित पाँच प्रजाति अभिलेख भएका छन्।कालो काग तराईदेखि साढे चार हजार मिटरको उचाइ हाराहारीमा भेटिने गरेको छ भने टेमु र टुङ्गा तीनदेखि पाँच हजार मिटरको उचाइसम्म पाउन सकिन्छ।

उच्च भेगमा पाइने टेमु र टुङ्गाका विशेषता प्रस्ट्याउँदै बराल थप्नुहुन्छ– ‘दुवै प्रजातिका खुट्टा राता हुन्छन् टेमुको चुच्चो पहेंलो हुन्छ भने टुङ्गाको रातो हुन्छ।’ राजा काग मनाङ, मुस्ताङ, डोल्पाजस्ता भेगको तीन हजार मिटर उचाइभन्दा माथि मात्रै अभिलेख भएको बताउँदै बराल यो कागको प्रजातिमा सबैभन्दा ठूलो  भएको बताउनुहुन्छ ।