फुटबलभन्दा इन्स्टाग्रामबाट कमाउँदै रोनाल्डो


लिस्बन, (एजेन्सी) । पोर्चुगल र युभेन्ट्सका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी मध्येका एक हुन् । उनले फुटबल मैदानबाट कीर्तिमानी आम्दानी गर्नुका साथसाथै सामाजिक सञ्जालबाट पनि कमाउनेमा कीर्तिमान बनाएका छन् । आफ्नो करियरमा ७ सय गोलको कोशेढुङ्गा पूरागरेका रोनाल्डोले इन्स्टाग्राममार्फत् पनि करोडौ कमाइरहेका छन् ।

वास्तवमा भन्ने हो भने रोनाल्डोको इन्स्टाग्रामबाट हुने आम्दानी उनले आफ्नो फुटबल क्लबबाट गर्ने कमाईभन्दा अधिक छ।इन्स्टाग्राममा रोनाल्डोको १८.६० करोड पÞmोलोअर्स छन् । उक्त आंकडा अनुसार उनी इन्स्टाग्राममा सबैभन्दा बढी फोलोओर्स भएका सेलिब्रिटी समेत हुन् । उनको प्रत्येक पोस्ट करोडौ मान्छेले हेर्ने र त्यसमा कमेन्ट पनि गर्ने गर्दछ । रोनाल्डोले आफ्ना ती करोडौं प्रशंसकहरुका कारण नै अहिले इन्स्टाग्राम पोस्टमार्फत् करोडौ कमाई रहेका छन् । सोसल मिडिया म्यानेजमेन्ट कम्पनी हपर एचक्यूको रिपोर्ट अनुसार रोनाल्डोले एक वर्षमा इन्स्टाग्राममा थुप्रै स्पोन्सर्ड पोस्ट गरेका थिए । जसको नतिजा रोनाल्डोले इन्स्टाग्रामबाट कीर्तिमानी रकम आम्दानी गरेका हुन् ।

रोनाल्डो आफ्ना ती पोस्टबाट ४७.८ मिलियन अर्थात् करीब ५ सय ४४ करोडबराबर नेपाली रुपैयाँ कमाइसकेका छन् । रोनाल्डोले एक वर्षमा ४९ स्पोन्सर्ड पोस्ट गरेका थिए। अर्थात् उनले हरेक स्पोन्सर्ड पोस्टका लागि करीब ११.०४ करोड रुपैयाँ प्राप्त गरे । योसँगै रोनाल्डो इन्स्टाग्राममा सर्वाधिक आम्दानी गर्ने खेलाडी पनि बनेका छन् । सन् २०१८ मा यूभेन्ट्सबाट रोनाल्डोले ३४ मिलियन डलर अर्थात् करीब ३ सय ८७.२ करोड रुपैयाँ प्राप्त गरेका थिए।

अर्जेन्टिनाका स्टार स्ट्राईकर लियोनल मेसी भने यो सूचीको दोस्रो स्थानमा छन् । बार्सिलोनाका फुटबलर मेसीले इन्स्टाग्राममा ३६ स्पोन्सर्ड पोस्ट गरेका थिए। ती पोस्टबाट मेसीले २३.३ मिलियन डलर अर्थात करीब २ सय ६४ करोड रुपैयाँ आम्दानी गरेका हुन् ।