महरा अझै सात दिन हिरासतमा, तिहारपछि पुनः पेश गरिने


न्युज अफ नेपाल, काठमाडौं ।

संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई थप सात दिनको म्याद दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले मागे बमोजिम सात दिनको समय जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेले दिएका हुन।

यसअघि नै बयान लिइसकेको अवस्थामा प्रहरीले महरा र पीडित भनिएकी महिलाको मोबाइल कल डिटेल्स र डिएनए परीक्षणको रिपोर्ट आइनसकेको भन्दै सात दिनको म्याद मागेको थियो। महानगरीय प्रहरी परिसरले जिल्ला सरकारी वकिलमार्फत् महरालाई थप सात दिन हिरासतमै राख्न माग गरेको थियो।

महरासँग यसअघि नै जिल्ला सरकारी वकिलकहाँ ७ घण्टा लामो बयान लिइएको थियो। म्याद थपिएसँगै महरा कात्तिक १३ गतेसम्म हिरासतमै रहनेछन्। तिहार बिदापछि कात्तिक १४ मा अदालत खुलेसँगै महरालाई पुनः पेश गरिनेछ। महराको पक्षबाट वकलात गरिरहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ बोलाएको बेला उपस्थित गराउने शर्तमा महरालाई जमानतमा रिहा गर्न माग गरेका थिए।