नेपाली र अमेरिकी सेनाको अभ्यास शुरू

0
Shares

काठमाडौं (नेस)।

नेपाली सेना र अमेरिकी सेनाको प्यासिफिक यूएसएआरपीएसीबीच सञ्चालन हुने दुईदिने नेपाल यूएस सेकेन्ड ल्यान्ड फोर्स टल्क नेपाली सेनाको मुख्यालयमा शुरू भएको छ।
नेपाली सेनाका रथीवृन्द र अधिकृतहरू १९ जना तथा अमेरिकी सेनाको १६ जना टोली सहभागी उक्त कार्यक्रमको उद्देश्य नेपाली सेनाको शान्ति स्थापना कार्यको क्षमता अभिवृद्धि, मानवीय सहयोग र विपद् प्रतिकार्य, फौज व्यवसायीकरणमा सहयोग तथा नेपाली सेना र अमेरिकी सेनाले सञ्चालन गर्दै आइरहेको सैनिक कारबाहीका अनुभवहरू आदान प्रदान गर्नु रहेको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त कार्यक्रममा सहभागी हुन आएको अमेरिकी सेनाको टिमको नेतृत्व गरी नेपाल आउनुभएका मेजर जनरल डेनियल एफ एमसी डेनियलसँग आजै जंगी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

उक्त भेटवार्ताको क्रममा दुई देशबीचका सेनाको पारस्परिक सम्बन्ध र पेसागत क्षमता अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।
यस प्रकारका कार्यक्रमहरूले दुई देशका सेनाबीच रहँदै आएको सैनिक सम्बन्ध अझ प्रगाढ हुने र नेपाली सेनाको पेसागत क्षमतामा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।