अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न थाल्यो : प्रम

0
Shares

काठमाडौं, (नेस)।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले अंगीकार गरेका व्यवस्थालाई उत्कृष्ट ठहर्याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्न शुरू गरेको बताउनुभएको छ।
नेपालको संविधानले प्राप्त गरेको ‘फ्युचर पोलिसी सिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहित समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रियरूपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलता भएको जानकारी गराउनुभयो।

‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो’, उहाँले भन्नुभयो– ‘अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धिलाई पहिचान गर्न थालेको छ। भोलिका दिनमा नेपालको संविधानले अझ ठूलो सम्मान प्राप्त गर्नेछ।’

प्रधानमन्त्री ओलीले युवा परिचालनसम्बन्धी कानुनी व्यवस्था र त्यसको व्यावहारिक पक्षलाई समेत मूल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो। संविधानमा युवा सहभागिता, सशक्तीकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चिततालगायतका कानुनी व्यवस्था उदाहरणीय भएकाले नेपाललाई अवार्ड दिइएको वल्र्ड फ्युचर काउन्सिलले उल्लेख गरेको छ।

युवाका लागि राष्ट्रिय युवा नीतिनिर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकारबारेको उपलब्धि भनिएको छ। सर्वियाको राजधानी बेलग्रेडमा हालै आयोजित अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्णरूपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदानगरिएको थियो।

आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाललगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो।सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसद्को प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमबीच ग्रहण गर्नुभएको थियो।