प्रावधान उल्लंघन गरे आमरण अनशन बस्ने चेतावनी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लंघन नगर्न नेविसंघ आबद्ध विद्यार्थी नेताहरूले कडा चेतावनी दिएका छन्।राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेविसंघभित्रका विधान पालना गर्नुपर्ने पक्षका नेताहरूले विधान उल्लंघन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन बस्ने चेतावनी दिएका हुन्।

नेविसंघको विधान २०२७ को सातौ संशोधन–२०७५ को भाग २, धारा ५ को उपधारा ५ मा ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउनेछैन’ भन्ने उल्लेख छ। निवर्तमान केन्द्रीय समितिले सोही विधानबमोजिम विभिन्न १६ वटा जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको थियो।

नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्नुपूर्व पनि नेपाली कांग्रेसद्वारा गठित निर्देशन समितिले पनि आउने महाधिवेशनबाट ३२ वर्ष उमेरको हदबन्दी कायम हुने प्रावधान तय गरेको थियो। सोहीबमोजिम जिल्ला अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लालाई निर्देशन दिइएको थियो।नेविसंघका अध्यक्ष नैनसिंह महर नेतृत्वको कमिटी विघटन भएपछि पार्टीले नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ।

तर पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा नेविसंघको विधान उल्लंघन गर्दै ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको भन्दै त्यसो गरे आमरण अनशन बस्ने चेतावनी विद्यार्थी नेताहरूले दिएका हुन्।

पत्रकार सम्मेलनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षको आफू प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरबहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताउनुभयो।

उहाँले विधान विपरीत आउने नेतृत्वले नेविसंघको साधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने पनि बताउनुभयो।‘कम्युनिस्ट सत्ताले सर्वसत्तावाद लागू गर्यो भन्ने अनि आफ्नो दलभित्र विधि र विधानलाई उल्लंघन गर्दै सर्वसत्तावाद लागू गर्नु कदाचित मिल्दैन, यसका विरुद्ध हामी आमरण अनशनको हदसम्म जान तयार छौं।’ –त्रिपाठीले चेतावनी दिनुभयो।

‘विधानबमोजिम १६ जिल्लामा अधिवेशन सम्पन्न भएको, ४० जिल्लामा तल्लोतहको अधिवेशन सम्पन्न भइसकेको र बाँकी २१ जिल्लामा अधिवेशनको तयारी भइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेस नेतृत्वबाट नेपाल विद्यार्थी संघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास हो भन्ने ठहर गरेका छौं’, विधान पक्षधर नेताहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यसर्थ नेविसंघको विधि विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वन गरी नेविसंघ तदर्थ केन्द्रीय समिति गठन गर्न नेपाली कांग्रेस पार्टी नेतृत्वसामु विनम्रतापूर्वक आग्रह गर्दछौं।

अन्यथा नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ समिति गठन गरेकै दिन विधान उल्लंघनको विरुद्ध नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय, सानेपामै आमरण अनशनको कार्यक्रम थाल्ने चेतावनी दिन चाहन्छौं।’नेविसंघ नेता महेन्द्र भट्टराईले विधान विपरीत समिति आए आमरण अनशनसहितको आन्दोलनले त्यसलाई खारेज खराई विधान सम्मत समिति ल्याउन पार्टी नेतृत्वलाई बाध्य पारिने बताउनुभयो। पत्रकार सम्मेलनमा नेविसंघ नेता योगेन्द्र रावलले नेविसंघलाई कुनै पनि हालतमा वृद्ध संघ बन्न नदिने बताउँदै वृद्धहरूले कक्षा कोठाको भावना बुझ्न नसक्ने दाबी गर्नुभयो।