निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेलगत्तै राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को छात्रवृत्ति कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानअनुसार पहिलोपटक चिकित्सा शिक्षाअन्तर्गतको एमबीबीएस र बीडीएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि बुधबार दरखास्त आह्वान गरेको छ।मन्त्रालयको छात्रवृत्ति शाखाले जारी गरेको सूचनामा प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने उल्लेख गरिएको छ।

सरकारको निर्णयअनुसार ७५ प्रतिशत निःशुल्क छात्रवृत्ति सिट कायम गरिएका तथा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने २० प्रतिशत छात्रवृत्तिमा मनोनयन गर्न योग्यता क्रम तोकिएको छ।प्रवेश परीक्षा उत्तीर्ण भएकाले छात्रवृत्तिका यही कात्तिक २० गतेसम्म अनलाइनमार्फत भर्न सकिने उल्लेख गरिएको छ।

एमबीबीएस र बीडीएस तहमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने समेत उल्लेख गरिएको छ।विदेशी लगानी भएका मेडिकल कलेजहरु मणिपाल मेडिकल कलेज पोखरा र कलेज अफ मेडिकल साइन्सेज चितवन भरतपुरले भने कुल सिटको २० प्रतिशत मात्र छात्रवृत्ति दिन पाउने व्यवस्था रहेको जनाएको छ।

सरकारलाई प्राप्त भएको छात्रवृत्तिमध्ये ५५ प्रतिशत स्थान खुलातर्फ हुनेछ भने ४५ प्रतिशत स्थान सामुदायिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका विपन्न समुदाय तथा व्यक्तिलाई आरक्षण गरी सो प्रतिशतलाई शतप्रतिशत कायम गरी तोकिएको आधारमा वितरण गरिने जनाएको छ।

सामाजिक रूपमा विपन्नका लागि २५ प्रतिशत, मधेसी समुदायका लागि २० प्रतिशतमध्ये दलित समुदायलाई ३ प्रतिशत र मधेसीका लागि १७ प्रतिशत, मुस्लिम समुदायका लागि २ प्रतिशत, शहीद तथा बेपत्ता पारिएका व्यक्तिको परिवार तथा घाइते वा निजको सन्ततीका लागि ३ प्रतिशत, महिलाका लागि ३३ प्रतिशतमध्ये दलित महिलाका लागि ३ प्रतिशत, मुस्लिम महिलाका लागि २ प्रतिशत, अपांगका लागि २ प्रतिशत, जनजातिका लागि २७ प्रतिशत, दलितका लागि ९ प्रतिशत, पिछडिएको दुर्गम क्षेत्रका व्यक्तिका लागि ४ प्रतिशत तोकिएको छ।

आवेदन भर्नका लागि आफूले इच्छाएको विषयमा सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानले २०७६ सालमा सञ्चालन गरेको प्रवेश परीक्षामा न्यूनतम ५० प्रतिशत अंक ल्याई उत्तीर्ण गरेको हुनुपर्नेछ। आरक्षणतर्फ दरखास्त गर्नेले सो सम्बन्धी कागजात अनिवार्य रूपमा दरखास्त आवेदनका साथ अपलोड गर्नुपर्नेछ।