‘राजधानी विकासको मानक होइन’

0
Shares

नेपाल समाचारपत्र, बाँके।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ‘राजधानी’ विकासको मानक नभएको बताउनुभएको छ।‘समृद्ध खजुरा, हाम्रो चाहना’ भन्ने नाराका साथ आयोजना गरिएको दुई दिने बृहत् खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले राजधानी नहुँदा विकास हुनै सक्दैन भन्ने भ्रममा नपर्न आग्रह गर्नुभयो।

सांसद नन्दलाल रोकायदेखि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणासम्मले सबै पूर्वाधार भएर पनि नेपालगन्जलाई प्रदेश राजधानीबाट टाढा पारेर विकासमा पछि पार्ने काम भएको गुनासो गरेपछि मुख्यमन्त्री पोखरेलले राजधानी विकासको मानक नभएको बताउनुभयो।

‘राजधानी कहाँ हुने कुरा विकासको मानक होइन, विकास त राजधानी नभए पनि निरन्तर भइरहन्छ’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘नेपालगन्ज पछाडि पर्ने कुरा कल्पना गर्नै सकिँदैन।’
खजुराले १५ वर्षे मास्टर प्लान बनाएर काम गर्नका लागि विज्ञहरुसँग सल्लाह सुझाव लिन आयोजना गरेको बृहत् सम्मेलनको स्वागत गर्दै मुख्यमन्त्री पोखरेलले हरेक वर्षको लक्ष्य निर्धारण गरेर काम गर्न सुझाव दिनुभयो।

‘मास्टर प्लानअनुसार काम गर्नुस्, त्यो दिगो हुन्छ’, मुख्यमन्त्री पोखरेलले थप्नुभयो– ‘योजनासँग जनतालाई जोडेर अघि बढ्नुपर्छ। हरेक ठाउँको आफ्नै विशेषता हुने भएकाले त्यसलाई केन्द्रविन्दुमा राख्नुपर्छ।’सामाजिक अराजकता बढेकोमा चिन्ता गर्नुभएका मुख्यमन्त्री पोखरेलले लहैलहैमा धारणा बनाउने जमात बढेको बताउनुभयो।