सुन ठगी गर्ने धरौटीमा छुटे ११ पीडितको भयो बिचल्ली

0
Shares

सरोज यादव, विराटनगर।

विभिन्न व्यक्तिबाट पसलमा राखेको १० लाख बढीको सुन लिएका व्यक्तिलाई अदालतले छाडेपछि मोरङको बूढीगंगा गाउँपालिकाका एघार जना पीडित बिचल्लीमा परेका छन्। उनीहरुले धरौटीमा राखेको सुन लिई ज्वेलर्स सञ्चालकबाट फिर्ता गराइदिन पीडितले माग गरेका छन्। जिल्ला अदालत मोरङले पीडकलाई धरौटीमा छाडेपछि आफूहरुको सम्पत्ति डुब्ने अवस्था भएको पीडितको गुनासो छ।

बूढीगंगा गाउँपालिका–२ स्थित गणेशलक्ष्मी ज्वेलर्सका सञ्चालक जितेन्द्र साहलाई गत असोज १० मा अदालतले २ लाख ५० हजार धरौटीमा रिहा गरिदिएको थियो। तर, सम्पत्तिको मूल्य १० लाख रहेको पीडितले बताए। साह धरौटीमा छुटेपछि सुन फिर्ता पाउने वा नपाउने भन्ने झन् अन्योल भएको पीडितले गुनासो गरेका छन्।उनीरुले हिजो बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो सम्पत्ति डुब्न लागेको भन्दै सहयोगका लागि प्रेस जगत्लाई समेत आग्रह गरेका छन्।

पीडितमध्येकी नन्दा शर्मा नेपालले ६ तोला सुन धरौटीमा राखेको बताउँदै पीडकलाई कारबाही गर्न माग गर्नुभयो। तर ज्वेलर्स सञ्चालक नै भागेपछि सम्पत्ति डुब्ने अवस्था आएको छ। पीडित आशा गुरुङले आफूले राखेको भन्दा कम परिमाणमा सुनको विवरण साहले जिल्ला सरकारी वकिलको कार्यालयले गरेको बयानमा उल्लेख भएको पाउँदा आफू छक्क परेको बताउनुभयो।

त्यस्तै उमेश रायले आफ्नी श्रीमती द्रोपती यादवले धितोमा सुन राखेको तर सञ्चालक नै बेपत्ता भएपछि तनाव भएको सुनाउनुभयो। साहले स्थानीय धरौटीमा राखेको सुन फिर्ता नदिई फरार भएपछि धनकुटाबाट पक्राउ गरी जिल्ला प्रहरी मोरङमा ल्याएर पीडितले नै बुझाएका थिए।

साहबाट दीपा तिम्सिना, कल्पना साह, अस्मिता भुजेल, खड्गकुमार श्रेष्ठ, सिद्धिलाल चौधरी, आशा गुरुङ, नन्दा शर्मा नेपाल, सुमित्रा चौधरी, राधा राजवंशीलगायत ११ जना ठगीमा परेका छन्। उनीहरुले संयुक्त रूपमा किटानी जाहेरी दरखास्त दिएपछि साहलाई प्रहरीले मुद्दा चलाएको थियो।

ज्वेलर्स सञ्चालकले आफ्नै घरबेटीलाई समेत घरभाडा नदिई ठगी गरेको खुल्न आएको छ। उनले श्रेष्ठसँग १ लाख ४० हजार लिन नक्कली सुनको गहना राखेको समेत बयानमा लेखाएका छन्। पीडितले आफूहरुको सुन फिर्ता हुनुपर्ने माग गरेका छन्।