पशुपतिमा शव जलाउनेको सेवासुविधा वृद्धि

0
Shares

काठमाडौं, (नेस)।

डेढ घण्टा शवदाहको कार्य रोकेपछि नौ वर्षदेखि सेवासुविधा कम पाएका कर्मचारीको सेवासुविधा बढेको छ।पशुपति आर्यघाटमा शव जलाउने कर्मचारीले बुधबार दिउँसो नौ वर्षदेखि कम सेवासुविधा पाएको भन्दै शवदाह कार्य रोकेका थिए। त्यसपछि घाट सेवा केन्द्रका कर्मचारीको सेवासुविधा बढेको हो। सुविधा बढेसँग कर्मचारी दिउँसोदेखि शव जलाउन थालेका थिए।

शवदाह कर्मचारीको विरोधपछि छलफल भई सुविधा बढाउने सहमति भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताउनुभयो। उहाँले आर्यघाटमा शव जलाएबापत र औषधि उपचारका लागि मासिक तलब बढाउनुका साथै अवकाशपछिको उपदानमा पनि वृद्धि भएकोे जानकारी दिनुभयो।

एउटा शव जलाएबापत पाउने १२ सयबाट १५ सय रुपियाँ र औषधी उपचार खर्च ५ हजारबाट १५ हजार रुपियाँ पुगेपछि सहमतिमा आएको छ। सहमतिमा अवकास पाउँदा, स्वैच्छाले छोडेमा र छोड्न भनिएमा उपदानमार्फत ५ लाख रुपियाँ पाउने सहमति भएको छ।

योभन्दा अगाडि उपदानमार्फत डेढ लाख मात्र पाउने व्यवस्था थियो। साथै दुर्घटना बीमामार्फत २ लाख दिनेसमेत सहमति भएको छ। आर्यघाटमा शव जलाउन घाटसेवा केन्द्रमा करिब ५० कर्मचारी कार्यरत छन्।