उपनेता नेम्वाङको राप्रपालाई सुझाव स्व. चन्द्रबहादुर गुरुङको निष्ठालाई अनुशरण गर्नुस्

0
Shares

काठमाडौं, (नेस)।

नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टीले लिएको निष्ठाप्रति अविचलित र अडिकभएर प्रस्तुत हुने नेताका रूपमा स्व. चन्द्रबहादुर गुरुङलाई चित्रण गर्दै उहाँका राम्रापक्षको अनुशरण गरेर अगाडि बढ्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ।तत्कालीन राप्रपा नेपालका महामन्त्री एवं संसदीय दलका नेता स्व. चन्द्रबहादुर गुरुङको चौथो वार्षिक पुण्य तिथिको अवसरमा ‘स्व. चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’द्वारा आयोजित स्मृति सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै बुधबार नेम्वाङले सो कुरा बताउनुभएको हो।

कार्यक्रमलाई राप्रपाका अध्यक्ष कमल थापाले विचार र सिद्धान्तका हिसाबले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र भएको बताउनुभएको थियो। अध्यक्ष थापाले संविधानसभाको पहिलो बैठकमा संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले पार्टीको अडान राजसंस्थासहितको लोकतन्त्र र हिन्दू राष्ट्रको पक्षमा डटेर आवाज बुलन्द गरेको पनि चर्चा गर्नुभएको थियो।

कार्यक्रममा अध्यक्ष थापाले स्व. गुरुङको सिद्धान्तप्रतिको निष्ठा, कर्तव्यपरायणता एवं अनुशासनलाई शिक्षाका रूपमा लिएर राप्रपाका आम नेता तथा कार्यकर्ताले अनुशरण गरी व्यवहारमा उतारेमा राप्रपाको प्रगतिलाई कसैले छेक्न नसक्ने स्पष्ट पार्नुभएको थियो।

परिवर्तनका नाममा परिवर्तनका संवाहक भन्ने राजनीतिक दलहरुको गलत मार्गचित्रका कारण देशको आर्थिक अवस्था जर्जर भएको उल्लेख गर्दै अध्यक्ष थापाले नेपाली युवाको रगत र पसिना विदेशमा निर्यात गरेर आएको रेमिट्यान्सले देश चल्नु दुर्भाग्य रहेको बताउनुभयो।

भएका उद्योगधन्दा नष्ट गर्नु, व्यक्तिगत एवं समूहगत स्वार्थकै लागि राजनीतिमा अपराधिकरण बढ्नु, भ्रष्टाचार मौलाएर जानुलगायत विकसित मुलुकको परिस्थितिलाई नियाल्दा परिवर्तनकारी राजनीतिक दलहरुको अकर्मण्यता पुष्टि भएकाले यसलाई निराकरण गर्न सक्षम राजनीतिक दलका रूपमा आम नेपाली जनताले राप्रपालाई हेर्न थालेको प्रसंग उल्लेख गर्दै अध्यक्ष थापाले विचार मिल्ने पार्टी एवं संगठनसँग एकता र सहकार्य गर्दै पार्टीलाई अग्रणी स्थानमा पुर्याउने उद्घोष गर्नुभयो।

सम्बोधनकै क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जुझारु एवं मृदुभाषी नेता चन्द्रबहादुर गुरुङको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गर्दै अहिलेको अवस्थामा उहाँजस्ता निर्भीक नेताको खाँचो टड्कारो रहेको बताउनुभएको थियो।

कार्यक्रममा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, उपाध्यक्ष तोरणबहादुर गुरुङ र प्रतिष्ठानका सदस्य सचिव चन्द्रबहादुर गुरुङ ‘रमेश’ लगायतले स्व. गुरुङको योगदानप्रति चर्चा गर्नुभएको थियो भने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले स्व. गुरुङको संक्षिप्त जीवनीमाथि प्रकाश पार्नुभएको थियो।