अनियमितता गर्नेलाई कारबाही

0
Shares

काठमाडौं, (नेस)।

नेपाली सेनाले भर्ना केन्द्रमा कीर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा ४ सैनिक तथा २३ गैरसैनिक व्यक्तिमाथि अनुसन्धान गरी कारबाही अगाडि बढाएको छ।
गत साउन १९ गते प्रकाशित विज्ञापनअनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा ५ हजार ८ सय सैन्य पदको भर्ना छनोट प्रक्रिया भइरहेको छ।

सेनाको भर्ना केन्द्र, उत्तर–पश्चिम पृतना हेडक्वार्टरमा नक्कली परिचयपत्र बनाइ कीर्ते गरेको आशंकामा ३ र श्री नं ६ बाहिनी अड्डा कैलाली भर्ना केन्द्रमा आर्थिक लेनदेन भएको आशंकामा १ सैनिकलाई निगरानीमा राखी अनुसन्धान शुरू गरिएको सैनिक मुख्यालयले जनाएको छ।

यसै गरी भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई सुर्खेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी अनुसन्धान शुरू गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सो कार्यमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताइएको छ।

सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं ६ बाहिनी अड्डा कैलालीमा पनि परीक्षा दिन लगेका ४ नक्कली परीक्षार्थीलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको सेनाले जनाएको छ। त्यस्तै वास्तविक उम्मेदवारको खोजी भइरहेको र अन्य तीन भर्ना केन्द्रमा आर्थिक लेनदेनमा संलग्न ४ गैरसैनिकलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।