नेकपाका आचार्य र सिंहमाथि विप्लवको आक्रमण

0
Shares

वासुदेव शर्मा, जाजरकोट।

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र कर्णाली प्रदेश कमिटीका सदस्य डम्बरबहादुर सिंहमाथि बुधबार बिहान आक्रमण भएको छ।बारेकोट गाउँपालिकाको लिम्सामा पार्टी कमिटीको पूर्वनिर्धारित शपथ ग्रहण कार्यक्रममा जाने क्रममा बारेकोट गाउँपालिका–८ लैखमस्थित राहपानी झरनानजिकैको भीरमा आचार्य र सिंहमाथि आक्रमण भएको हो।

बाटोमा हिँडिरहेको अवस्थामा विपरीत दिशाबाट आएका पाँच जनामध्ये एक जनाले लट्ठीले कुटेर आफूलाई घाइते बनाएको कर्णाली प्रदेश सदस्य डम्बरबहादुर सिंहले बताउनुभयो।
‘पाँच जनाको समूहले शुरूमा डम्बरबहादुर सिंह भनेको को हो भनी सोधे, मैले म नै हुँ भन्नेबित्तिकै हिर्काउन शुरू गरे।’ –सिंहले भन्नुभयो।

एमालेका नेतालाई कुट्नुपर्छ भन्दै विप्लव नेतृत्वका कार्यकर्ता अर्जुन नाम गरेका युवाले गाली गर्दै केन्द्रीय सदस्य आचार्य र आफूलाई हिँड्न नसक्ने गरी कुटेको सिंहले बताउनुभयो।

युवाको आक्रमणबाट घाइते भएर हिँड्न नसक्ने भएपछि बारेकोट गाउँपालिका लिम्सामा हुने कार्यक्रममा नगएर आफूहरू दल्लीतिर फर्किएको सिंहले बताउनुभयो।

‘अप्ठेरो ठाउँमा पुग्नेबित्तिकै आक्रमण शुरू भयो। माथिबाट ढुंगा लडाएर अगाडि बढ्न नदिएपछि हामी फर्कियौं’, केन्द्रीय सदस्य आचार्यले भन्नुभयो– ‘दल्ली स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिरहेका छौं, अहिले खतरामुक्त छांै।’आचार्य पूर्वएमालेको भ्रातृ संस्था युवा संघ नेपालका पूर्वमहासचिव हुनुहुन्छ भने सिंह जाजरकोट जिल्ला कमिटीका पूर्वअध्यक्ष हुनुहुन्छ।

घटना योजनाअनुसार गरेको सिंहको आरोप थियो।सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका अध्यक्ष ढकवीर रानाले घटनाको प्रतिक्रिया दिँदै घटना निकै दुःखद भएको बताउँदै दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख श्यामबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले घटना संलग्न विप्लव कार्यकर्ताको खोजीकार्य भइरहेको जाजरकोटका प्रहरी निरीक्षक केशर कार्कीले बताउनुभयो।
विप्लव नेतृत्वको नेकपा जाजरकोटका इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले नेकपाको दुई तिहाइको सरकारले आफ्ना नेता कार्यकर्तालाई सुनियोजित ढंगले पक्राउ गरेकाले पार्टी कमिटी निर्देशनअनुसार यस्तो कदम चालेको बताउनुभयो।
जाजरकोटका अन्य पालिकामा सत्तारुढ दल नेकपाका नेताहरूलाई गाउँमा प्रवेश रोक लगाएकाले आउन खोज्ने जुनसुकैलाई आक्रमण गर्ने चेतावनी दिनुभयो।विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि सत्तारुढ दल नेकपाको सरकारले गर्ने गतिविधिमा पनि प्रतिबन्ध लगाउने जिल्ला इन्चार्ज धमिलले बताउनुभयो।