उपकुलपति छान्न आवेदन माग एक साताभित्र दरखास्त दिनुपर्ने

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिनुभयो।

मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ।सोमबार मन्त्री पोखरेलसहितको सर्च कमिटीले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर त्रिविबाहेक अन्य विश्वविद्यालयमा आवेदन दिएकामध्येबाट उपकुलपति र सेवा आयोगका अध्यक्ष र सदस्य छनोट गर्न सहमति लिएपछि सूचना जारी गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिनुभयो। मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ।

मन्त्रालयले आज बिहीबार सार्वजनिक सूचना जारी गर्ने भएको छ। मन्त्री पोखरेलसँगै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदी, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) उषा झा र केही अधिकारी सोमबार बिहान ११ बजे प्रधानमन्त्री निवास पुगेका थिए।

दशैंअघि मन्त्री पोखरेलको अध्यक्षतामा गठित सर्च कमिटीले डा. भगवान कोइराला, प्राडा धर्मकान्त बाँस्कोटा र प्राडा चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको छ। प्रम ओलीले त्रिविबाहेक अन्य विश्वविद्यालयको हकमा योग्यता र विशिष्टताको आधारमा उपकुलपति छनोट गर्न मापदण्ड बनाएर आवेदन माग गर्न निर्देशन दिनुभएको थियो।

सोहीअनुसार मन्त्रालयले सूचना जारी गरेको हो। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति तथा सेवा आयोगका अध्यक्ष, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति र नेपाल संस्कृत श्वविद्यालयको उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्यको सिफारिसका लागि निवेदन माग गरिएको हो।

विश्वविद्यालयका सहकुलपति एवं मन्त्री पोखरेलले उपकुलपति छनोट हुन बाँकी रहेका पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका लागि तिहारअघि नै सर्च कमिटी बनाउने तयारी भइरहेको बताउनुभयो।

विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष प्राडा परासर कोइरालाको समितिले आयोगको अध्यक्षको अध्यक्षतामा विश्वविद्यालय सभाका दुई सदस्य रहेको सर्च कमिटी बनाउने र सो समितिले विश्वविद्यालयहरूको उपकुलपति छनोट उल्लेख गरेको थियो।

छनोट समितिले अब आवेदन दिएको प्राज्ञको वायोडाटा अध्ययन गरी छनोटमा परेकाहरूको कार्ययोजना माग गर्ने तयारी गरेको छ। विश्वविद्यालय हाँक्न सक्ने, सक्षम व्यक्तिलाई उपकुलपति नियुक्ति गर्न मन्त्रालयले आवेदन माग गरेको हो।

पार्टीमा लागेका व्यक्तिलाई उपकुलपति नियुक्ति गर्ने विगतको परम्परालाई हटाउन मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति, सेवा आयोगका अध्यक्ष र सदस्य छनोट गर्न आवेदन माग गरेको हो।भदौ ६ बाट त्रिविलगायत सात विश्वविद्यालय उपकुलपतिविहीन छन्। उपकुलपतिविहीन भएको २ महिना बितिसक्दा पनि सर्च कमिटीले त्रिविबाहेक अन्य विश्वविद्यालयको उपकुपति नियुक्ति गर्न सकेको छैन।