बरन्डा भाचिँदा ४२ विद्यार्थी घाइते, घर भत्काउँदा एकको मृत्यु

0
Shares

काठमाडौं, (नेस)।

राजधानीको उत्तरी क्षेत्रमा पर्ने धर्मस्थलीस्थित तारकेश्वर नगरपालिका–३ मा रहेको विद्याकुञ्ज स्कुलको बरन्डा भाँचिँदा ४२ विद्यार्थी घाइते भएका छन्।विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगिता हेर्न जम्मा भएका विद्यार्थीको भार थेग्न नसकेपछि बरन्डा भाँचिएको प्रहरीले जनाएको छ।

घाइते भएका विद्यार्थीलाई बालाजुको ग्रिनसिटी अस्पतालमा भर्ना गरिएको छ। घाइते हुने विद्यार्थीमा ६ देखि १२ वर्षका रहेको र केही विद्यार्थीको अवस्था गम्भीर रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ।

यसैबीच चाबहिलस्थित केएल टावरनजिकै रहेको पुरानो घर भत्काउँदा ३ जना मजदुर घाइते भएका छन्। तीमध्ये गम्भीर घाइते भई दीर्घायु अस्पताल भर्ना गरिएका दीपक तामाङको उपचारका क्रममा मृत्यु भएको र घाइतेद्वय रामबहादुर कुँवर र जीवन मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।