प्रधानमन्त्री आज अजरबैजान जाँदै

0
Shares

काठमाडौं, (नेस)।प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै हुनुहुन्छ। असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उहाँ सो मुलुकको राजधानी बाकु प्रस्थान गर्दै हुनुहुन्छ।

असंलग्न आन्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन भोलि शुक्रबार बाकुमा शुरू हुँदै छ। ओलीले शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका मुलुकहरूको समूह हो।

यो समूहमा १ सय २० मुलुक आबद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्।दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकारलगायत सहभागी हुने परराष्ट्रले जनाएको छ।