थाहानगर–५ कार्यालयमा आगजनी


न्युज अफ नेपाल, हेटौंडा ।

अज्ञात समूहले उत्तरी मकवानपुरको थाहानगर–५ को कार्यालयमा आगजनी गरेको छ । वडा कार्यालय यस वर्ष बनाइएको हो ।

वडास्थित सानो फाखेलको आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार मध्यरात आगजनी गरिएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले ढोका फुटाएर, पेट्रोल, मट्टीतेल छर्केर आगो लगाइएको बताउनुभयो । आगोका कारण विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाएका थिए ।

स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिनुभयो । ‘कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ, केही बाँकी छैन,’ वाइबाले भन्नुभयो ।

वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको नगरका मेयर लवशेर बिष्टले बताउनुभयो । इलाका प्रहरी कार्यालय पालुङले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन ।