विकास समुदायसँग साझेदारीः मन्त्री बास्कोटा


मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विकासमा समुदायसँग साझेदारी आवश्यक भएको बताउनु भएको छ । ‘विकासमा राजनीति आवश्यक छैन, अपराधिकरण र भ्रष्टीकरण राजनीतिमा हुन सक्दैन’–मन्त्री बास्कोटाले भन्नुभयो ।

लायन्स हार्ट क्लिनिक परियोजना लायन्स क्लव अफ काभ्रे बनेपाले आयोजना गरेको लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा शुभ दिपावली, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आफुलाई भन्दा अरुका लागि विकास आवश्यक भएको बताउनु भयो । ‘विकास र प्रकृतिको बचाउ सँगै हुनु पर्छ’–मन्त्री बास्कोटाले भन्नुभयो–‘विरामी भएपछि मात्रै हैन हुनै नदिन वातावरण राम्रो बनाउनु पर्छ ।’

बनेपामा खानेपानी, फोहोर ब्यवस्थापन, करिडोर, पार्क निर्माण लगायतका महत्वपूर्ण आयोजना संचालन हुने मन्त्री बास्कोटाले बताउनु भयो । ‘अपाङ्गमैत्री संरचना निर्माणमा ध्यान दिनु पर्छ’– मन्त्री बास्कोटाले भन्नुभयो – ‘लायन्स परोपकारी संस्था हो, अझै समुदायमा आधारित कार्यक्रम संचालन गर्नु पर्छ ।’
लायन्स हार्ट क्लिनिक परियोजना लायन्स क्लव अफ काभ्रे बनेपाले नेपाल हार्ट फाउण्डेशनको सहयोगमा ह्दयरोग सम्वन्धी जोखिममा परेका विरामीहरुको उपचारका लागि अत्याधुनिक यन्त्र उपकरणका लागि रकम संकलन गरिरहेको छ ।

१ करोड ४२ लाख मुल्य पर्ने इसिजी, इको कार्डियोग्राम, टिएमटी, होल्टार मनिटरीङ्ग, अल्ट्रासाउण्ड ग्राम लगायतका यन्त्र उपकरण जडान गर्ने उदेश्यले उक्त रकम संकलन गरिएको लायन्स मुटु क्लिनिक तथा भवन निर्माण समितिा अध्यक्ष रामराजा धौभडेलले बताउनु भयो । लायन्स क्लव आफ काभ्रे बनेपाले उक्त मुल्यमा ४८ लाख जुटाउन पहल गरेको बताउनु भयो । ३७ लाख विभिन्न क्षेत्रका ब्यक्तिहरुले सहयोग गरेको भए पनि अझै केहि रकम नपुग भएकाले सापटी ऋणमा कोषमा जम्मा गरेको बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठ, परियोजना प्रमुख सुर्दशन धर प्रधानाङ्ग, लायन्स राजु सरकार, पूर्ण पलाञ्चोके, विधान जोशी लगायतले लायन्सका गतिविधि तथा परियोजनाका बारेमा जानकारी गराउनु भएको थियो । बनेपा नगरपालिकाले हार्ट क्लिनिकका लागि निशुल्क जग्गा उपलब्ध गराएको छ भने अन्य संरचना निर्माणमा पनि सहयोृग गर्ने नगर प्रमुख लक्ष्मीनरसिं बादेले बताउनु भयो । नेपालमा मात्रै नभई विश्वमै सर्ने भन्दा नसर्ने रोगबाट मर्नेहरुको संख्या धेरै भएको छ ।

शहरी क्षेत्रमा ह्दयघातका विरामी धेरै हुने भएकाले शहरको वातावरण, शहरमा बस्ने ब्यक्तिहरुको रहनसहन र खानपान फरक हुने भएकाले त्यसमा सुधार गर्नु पर्ने बताउनु भयो । उक्त क्लिनिकमा तीन जना डाक्टरहरुले उपचार गर्नु हुने अध्यक्ष धौभडेलले जानकारी दिनु भयो ।

सोहि अवसरमा रिता घोरसाईने र गगन सेवाचार्यलाई मन्त्री बास्कोटाले ह्विल चियर हस्तान्तरण गर्नु भएको थियो ।