एमबाप्पेको ह्याट्रिकमा पीएसजी चम्कियो


एजेन्सी, स्टार फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिकमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले बेल्जियन क्लब ब्रगमाथि उसकै मैदानमा ५–० को फराकिलो जित निकालेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेको ह्याट्रिक तथा मोउरो इकार्डीले दुई गोल गरे ।

बेल्जियम ब्रगमा पीएसजीले खेलको सातौ मिनेटमा एन्जल डी मारियाको पासमा मोउरो इकार्डीको गोलमा पहिलो हाफमा १–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पीएसजीले दोस्रो गोलको लागि ६१औं मिनेट कुर्नुपरेको थियो ।

६१औं मिनेटमा एमबाप्पेले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटपछि इकार्डीले एमबाप्पेको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी खेलमा ३–० ले अघि बढ्यो ।

७९औं मिनेटमा डि मारियाको पासमा एमबाप्पेले व्यक्तिग दोस्रो गाल गर्दा पीएसजी खेलमा ४–० को आरामदायी स्थितिमा अघि बढ्यो । ८३औं मिनेटमा डि मारियाकै पासमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै समूह ‘ए’ मा अपराजित रहेको पीएसजीले ३ खेलबाट ९ अंक जोडेको छ । क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । रियाल म्याड्रिड ४ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ ।