नेविसंघमा ५० नाघेका सभापति बनाउन विद्यार्थी असहमत, अनशन सुरु गर्ने चेतावनी

वृद्ध संघ बनाउन खोजेको आरोप


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्यार्थी संघ विद्यान पक्षधर विद्यार्थीहरुले नेपाली कांग्रेस नेतृत्वबाट लोकतान्त्रिक मूल्य र मान्यतालाई ध्वस्त पारेको आरोप लगाएका छन्।

विधानविपरित नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्न खोजिएपछि उनीहरुले गम्भीर ध्यानाकार्षण भएको बताउँदै कांग्रेस मुख्यालय सानेपामा अनशन बस्‍ने चेतावनी दिएका छन्।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले विधानविपरित पार्टी नेतृत्वबाट नेविसंघलाई नेपाल वृद्ध संघ बनाउने चेष्टा गर्नु लोकतन्त्रको उपहास भएको आरोप लगाएका छन्। कार्यक्रममा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले विधानबमोजिम नै नेविसंघ तदर्थ समिति आउनुपर्ने आफूहरुको मुख्य माग रहेको सुनाए ।

‘हाम्रो पार्टीका सभापति शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा ४९ वर्षको हुनुहुन्थ्यो, तर अहिले नेविसंघको तदर्थ समितिको नेतृत्व ५० वर्ष नाघेको व्यक्ति बनाउन खोज्नु गलत हो,’ उनले भने, ‘आफ्नै विधान मिचेर बन्ने केन्द्रीय समितिले साधारण सदस्य कुन नैतिकताका आधारमा बाँड्न सक्छ ?’
कार्यक्रममा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समिति सचिव योगेन्द्र रावलले नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा आफूहरुलाइ अमान्य रहेको चेतावनी दिए । उनले भने,‘नेविसंघलाई नेपाल बृद्ध संघ बनाउने कुरा कक्षाकोठाका विद्यार्थीहरुको लागि स्विकार्य हुँदैन् । यो उर्जाशील विद्यार्थीहरुमाथिको अपमान हो ।’

संघको विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यान्वयन गरी नेविसंघ तदर्थ समिति गठन गर्नुपर्ने उनीहरुको माग छ। कांग्रेस सभापति शेरबहादुर देउवाले ५० वर्ष पुरा भइसकेका राजीव ढुंगानालाई नेविसंघको सभापति बनाउन खोजेको आरोप विद्यार्थीहरुले लगाएका छन्।

विधानअनुसार तदर्थ समिति गठन नभए नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गर्ने चेतावनी विधान पक्षधर नेता मनीष सिंखडाले बताए।