महाभारतका यात्रुलाई छुट नै छुट


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेको कर्णाली भनेर चिनिने डाँडापारी क्षेत्रको बनेपा देखी गोकुलेको धापसम्म सोमबारबाट काभ्रे बस प्रालिका तीन वटा बस सन्चालनमा आएको छ ।

बस सेवाको उद्घाटन महाभारत गाँउपालिका प्रमुख कान्छालाल जिम्बाले र काभ्रे बस प्रा.लिका निर्देशक बर्ण शाक्यले सयुक्त रुपमा गर्नु भएको छ ।

जिल्लाको विकट मानिने महाभारत गाउँपालिका तत्कालिन बुढाखानी, फोक्सिङ्गटार, बनखु, घर्तिछाप र गोकुले गा.बि.स का स्थानीयलाई यातायातको सेवा प्रदान गर्ने उदेश्यले सञ्चालन गरिएको महाभारत गाँऊपालिकाका प्रमुख कान्छालाल जिम्बाले बताउनु भयो ।

डाँडापारी भेगका जनतालाई सदरमुकामसम्म पुग्न पहिले जस्तो धेरै समय नलाग्ने साथै भाडादर पनि रामपुर हुदैं जाँदा प्रति व्यति ७७० लाग्नेमा अब धापबाट महादेबटार हुदै बनेपा सम्म प्रति व्यक्ति ५८० मात्र लाग्ने अध्यक्ष जिम्बाले बताउनुभयो ।

कार्यक्रममा काभ्रे बस प्रालिका निर्देशक वर्ण शाक्यले जेष्ठ नागरिक, अशक्तलाई निशुल्क सेवा प्रदान गर्ने घोषणा गर्नु भयो । काभ्रे बसले जिल्लाको ग्रामिण भेगमा बस सञ्चालन गरी जनतालाई सेवा सुविधा दिदै आएकाले थप ग्रामिण भेगका जनतालाई सेवा दिदै जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चेतकुमारी माझी, जनप्रतिनिधी, काभ्रे बस प्रालिका सञ्चालक स्थानीय लागएतको सहभागिता रहेको थियो ।

सोहि अवसरमा गाउँपालिका र काभ्रे बस प्रालि बीच भाडा सम्बन्धि सम्झौता भएको छ । सम्भौता अनुसार बनेपाबाट गाँउपालिका सम्मको भाडा दर ४ सय ५० कायम गरिएको छ । त्यसै गरी बनेपा बाट घर्तिछाप ५ सय, गोकुले ५ सय ५०, धाप मैनडाँडा ५ सय ८० कायम गरिएको छ । उक्त भाडादर यस अघि सिन्धुलीको रामपुर हुँदै जाने भन्दा धेरै कम हो ।

त्यसले पनि स्थानीयलाई सहज भएको छ । दुरीका हिसावले पनि केहि कम भएको अध्यक्ष जिम्बाले बताउनु भयो ।