सुदूरपश्चिमका पाँच जिल्लामा उप–निर्वाचन हुँदै


विनोद सिंह विष्ट, बैतडी ।

बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लामा आउँदो मंसिरमा उप–निर्वाचन हुने भएको छ । सुदूरपश्चिमका बैतडी, डोटी, अछाम , बाजुरा र कञ्चनपुर जिल्लाका सात वडामा उप–निर्वाचन हुने भएको हो ।

वडा अध्यक्ष बिहीन रहेको बैतडीको पुर्चौडी नगरपालिका वडा नं ४, सुर्नया गाउँपालिका १, दोगडाकेदार गाउँपालिका ४, डोटीको आदर्श गाउँपालिका २, अछामको मेल्लेख गाउँपालिका ५, बाजुराको त्रिवेणी नगरपालिका १ र कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा उप–निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष गौतम प्रसाद भट्ट, सुर्नया गाउँपालिका १ का अध्यक्ष कलसबहादुर चन्द, दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मान बहादुर विष्टको मृत्यु भई पद रिक्त रहेको छ। यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पदम सिह बोहोरा,अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष राम बहादुर बोहोरा, बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का अध्यक्ष खम्म दमाईको पनि मृत्यु भईसकेकाले उप निर्वाचन हुनेछ ।

यसका साथै कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्बर ३ मा निर्वा्चित भएका वडा अध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुख भएकाले उप–निर्वाचन हुने जनाईएको छ ।

उपनिर्वाचनका यहाँका विभिन्न पार्टीले आन्तरिक तयारी थालिसकेका छन् ।

उपनिर्वाचनमा बैतडीका ४ हजार मतदाता सहभागी हुने

अगामी मंसिरमा हुने उपनिर्वाचनमा बैतडीमा ४ हजार बढी मतदाता सहभागी हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कुल ४ हजार ३३६ मतदाता सहभागी हुने भएका छन् ।

जसमा दोगडाकेदार गाउँपालिका वडा नं ४ मा १ हजार ८०८ सुर्नया गाउँपालिका वडा नं १ मा ६१९ र पुर्चौडी नगरपालिका वडा नं ४ मा १९०९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो ।

निर्वाचन हुने ३ वडामा ५ वटा मतदान केन्द्र तोकिएका छन् । दोगडाकेदार ४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका १ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदानकेन्द्र तोकिएका छन् ।

पिपलकोट माविमा १ हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा १०४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै बर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन् ।
वडा अध्यक्ष रित्त रहेका बैतडीका ३ वडामा अगामी मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

यसैबिच प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरी ५२ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

पालिका प्रतिनिधिको उम्मेद्वारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ । कात्तिक २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता , २९ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।