मन्थली एयरपोर्ट क्षेत्रमा ठगी धन्दा, २ व्यवसायी पक्राउ


रामचन्द्र वि.क, रामेछाप ।

रामेछापको सदरमुकाम मन्थलीमा रहेको मन्थली विमानस्थल आसपास खोलिएका पसल तथा होटल सञ्चालनको नाममा ठगी धन्दा चलाउने दुई ब्यवसायिलाई प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थल क्षेत्रमा पर्यटकलाई सुविधा दिने नाउँमा ब्यवसाय सञ्चालन गरि एक सय प्रतिशत भन्दा बढी मूल्यमा सामाग्री बिक्री गरी उपभोक्ता ठगी गर्ने टेकर्स ट्रान्जिट क्याफेका संचालक पासाङ ल्हामू शेर्पा र एभरेष्ट गेटवे मिनीमार्टका सञ्चालक जयकृष्ण अधिकारीलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

एयरपोर्ट क्षेत्रका ब्यवसायिहरुले चर्को मूल्य लिएर उपभोक्ता ठगी गरीरहेको भन्ने गुनासो पछि गएको बजार अनुगमन टोलीले ब्यापारीहरुले प्रत्येक बस्तुमा निर्धारीत मूल्य भन्दा बढी मूल्यमा सामाग्री विक्री वितरण गरीरहेको भेटेको थियो । अनुगमन टोलीले दिएको प्रतिबेदनको आधारमा उनिहरुलाई कालोबाजारी ऐन अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

मंगलबार पक्राउ पारेका दुई व्यवसायिलाई कालोबाजारी ऐन अन्तर्गत मद्धा चलाइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कालोबजारी ऐनमा २ लाख ५० हजार रुपैयाँसम्म जरिवा वा १ वर्ष जेल सजाय वा दुबै सजाय हुने कानूनी ब्यवस्था छ ।

यस्तो थियो ठगी धन्दा

मिनीमार्ट सञ्चालक अधिकारीले उत्पादक कम्पनीले निर्धारण गरेको बिक्री मूल्यमा एक सय प्रतिशत भन्दा बढी मूल्यको स्टिकर टाँस गरी गैरकानूनी तरिकाले विक्री गर्दै आएका थिए ।

अधिकारीले पसलको बाहिर वोर्डमा एभरेष्ट गेटवे मिनीमार्ट लेखेर सामाग्री विक्रीवितरण गरेका भए पनि उक्त पसल दर्ता नभएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डले जानकारी दिनुभयो । मार्टले ४ सय रुपैयाँ पर्ने विस्कुट ८ सय ५० रुपैयाँ सम्म लिएर विक्री गर्ने गरेको बजार अनुगमन टोलीले फेला पारेको थियो ।

त्यसैगरी क्याफेका सञ्चालक शेर्पाले एक कप चियाको १ सय रुपैयाँ, बोतलमै ३० रुपैयाँ मूल्य उल्लेख भएको पानीलाई ८० रुपैयाँ र सादा खानाको ५ सय रुपैयाँ सम्म लिएर खेलेआम उपभोक्ता ठगी गरेको भेटिएको थियो ।