रुबीनाको सानदार प्रदर्शनसँगै काठमाडौं फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

कप्तान रुबीना क्षेत्री बेलबासीले सानदार प्रदर्शन गरेपछि क्याट क्वीन्स काठमाडौं कीर्तिपुरमा जारी महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

मंगलबार भएको क्वालिफायर खेलमा काठमाडौंले विराटनगर टाइटन्सलाई सहजै ९ विकेटले हराएको हो।

योसँगै बिहीबार हुने फाइनल खेलमा काठमाडौंले चितवन राइनोजसँग खेल्नेछ। लिग चरणमा चितवनसँग काठमाडौं हारेको थियो। यो काठमाडौंको लिग चरणमा एक मात्र हार थियो।

तर चितवनले भने चारै खेल जितेर फाइनलको यात्रा तय गरेको थियो।त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर विराटनगरले १७.३ ओभरमा सबै विकेट गुमाई मात्र ६८ रन जोडेको थियो।

टोलीलाई धरासयी पार्न काठमाडौंकी कप्तान रुबीनाले निकै घातक बलिङ गरिन्। प्लेयर अफ द म्याच रुबीनाले ४ ओभरमा १ मेडनसहित ४ रन दिएर चारै विकेट लिएकी थिइन्।

उनी प्रतियोगितामा तेस्रो पटक प्लेयर अफ द म्याच घोषित भइन्। यसअघि पोखरा पल्टन र ललितपुर फाल्कनविरुद्ध उनी प्लेयर अफ द म्याच घोषित भएकी थिइन्। उनले जारी प्रतियोगितामा दुई अर्धशतक प्रहार गरिसकेकी छिन्।

रुबीनाले विराटनगरको सानदार ओपनिङ साझेदारी तोडेकी थिइन्। ४४ रनको योगफलमा उनले सोनु खड्कालाई व्यक्तिगत ३४ रनमा आफ्नै बलमा क्याच गरेर पवेलियन फर्काएकी थिइन्।

सोनुले ३५ बलमा ६ चौका प्रहार गरेकी थिइन्। थप ३ रन जोडेको विराटनगरलाई दोस्रो झट्का पनि रुबीनाले नै दिइन्। उनले अर्की ओपनर ज्योति पाण्डेलाई १२ रनमा ममता थापाद्वारा क्याच आउट गराइन्।

ओपनर दुवै जना आउट भएपछि विराटनगर दवावमा खेल्न पुगेको थियो। जसमा लक्ष्मी चौधरी र कप्तान सरीता मगर रन आउटका सिकार भए। उनीहरूले २÷२ रन बनाएका थिए।

डली भट्टलाई शून्यमा रुबीनाले आउट गरिन् भने ईश्वरी विष्टले अस्मिना कर्माचार्य (१ रन) लाई आउट गरेका थिए। यी चारै जना ब्याटवोमेन ५० रनको योगफलमा आउट भएका थिए।

५० रनमा ६ विकेट गुमाएपछि विराटनगरले काठमाडौंसामु आत्मसमर्पण गर्नेबाहेक अर्को विकल्प रहेन। त्यसो त आरती बिँडारीले टोलीलाई सम्हाल्न खोजेकी थिइन्।

तर उनी जम्न नपाउँदै रुबीनाको बलमा आउट भएकी थिइन्। उनले २२ बलमा ११ रन जोडेकी थिइन्। काठमाडौंका अन्य बलरमा संगीता राई, ईश्वरी र लक्ष्मी साउदले एक–एक विकेट लिएका थिए।

काठमाडौंले ७० रनको लक्ष्य १ विकेट गुमाएर ९.५ ओभरमै प्राप्त गरेको थियो। जसमा रुबीना ३४ रनमा र अप्सरी बेगम २७ रनमा नटआउट रहेका थिए।

ओपनर रोमा थापा पहिलो बलमै सोनुको बलिङमा एलबीडब्ल्यु आउट भएकी थिइन्। यसपछि रुबीना र अप्सरीले दोस्रो विकेटका लागि ७० रन जोडेका थिए। रुबीनाले ३० बलमा ६ चौका प्रहार गर्दा अप्सरीले २८ बलमा ३ चौका प्रहार गरेकी थिइन्।