अस्थायी शिक्षकलाई विवरण पठाउन ताकेता

0
Shares

काठमाडौं, (नेस)।शिक्षा, तथा मानव स्रोत विकास केन्द्रले पाउने सुविधाका लागि आवश्यक विवरण नपठाउने अस्थायी शिक्षकलाई विवरण ताकेता गरेको छ। शिक्षा विकास तथा समन्वय एकाइहरूलाई परिपत्र गर्दै केन्द्रले कात्तिक २० गतेसम्मको म्याद तोकेको हो।

हालसम्म पनि केही जिल्लाका अस्थायी शिक्षकले सेवा सुविधा प्राप्त गर्न निवेदन नबुझाएको बुझिन आएको भन्दै केन्द्रले ताकेकतासहितको म्याद उल्लेख गरेर परिपत्र गरेको हो। उक्त सुविधा पाउन योग्य शिक्षकको आवश्यक प्रमाणित कागजात रहेको व्यक्तिगत फाइलसहितको समष्टिगत विवरण विद्यालय शिक्षक कितावखानामा पठाउन केन्द्रले ताकेता गरेको जनाएको छ।

तोकिएको विवरणसहितको फाइल कितावखानामा प्राप्त नभई सेवा सुविधाबाट बञ्चित भएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुने उक्त परिपत्रमा उल्लेख छ। शिक्षा ऐनको आठौं संशोधनले अस्थायी शिक्षक व्यवस्थापनको व्यवस्था गरेको आधारमा उनीहरूका लागि तोकिएको परीक्षाका प्रकृया सकिइसकेको छ।

ऐनको दफा ११ मा अस्थायी शिक्षकले पाउने सेवासुविधाको व्यवस्था गरिएको छ। सो अनुसार ५ देखि १० बर्ष सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब, १० बर्ष भन्दा बढीकालाई एक महिनाको र १५ बर्ष भन्दा बढी सेवा गरेकालाई प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनको तलब बराबरको रकम दिने व्यवस्था छ। इकाइले तथ्यांक पठाउन आलटाल गरेपछि केन्द्रले दुई साताको म्याद दिएको हो।