तीव्रताका साथ काम गर्न मेयरको आग्रह

0
Shares

काठमाडौं, (नेस)।काठमाडौं महानरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नगर सभाबाट स्वीकृत कार्यक्रमलाई लक्षित समयमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ। मंगलबार विभागीय प्रमुखलाई निर्देशन दिँदै उहाँले आत्मबिश्वाश राखेर नगर सभा र कार्यपालिकाबाट स्वीकृत कार्यक्रमलाई तीब्रताका साथ कार्यान्वयनमा गर्न आग्रह गर्नुभएको छ।

‘केही द्विविधा भए मलाई सोध्नोस्, हामी नेपाल पर्यटन वर्षको पूर्व सन्ध्यामा छौं, नेपाल पर्यटन बर्ष सफल बनाउन काठमाडौंको ठूलो योगदान हुनेछ’ – उहाँको भनाइ थियो। पर्यटक काठमाडौं आइपुग्नेबित्तिकै नेपालको स्वच्छ छवि, सुरक्षित बास र आनन्ददायक यात्राको महसुस गर्न सक्नेगरी विकास गर्नु आवश्यक रहेको उहाँको धारणा छ।

प्रमुख शाक्यले प्राप्त उपलब्धि जोगाउने कुरामा जोड दिँदै भन्नुभयो– ‘राष्ट्रपति भ्रमणका क्रममा हामीले सडकलाई जस्तो बनायौं। त्यसको अवस्थामा गिरावट आउनुहुँदैन।’ उहाँले विगतका उपलब्धि जोगाउन र स्वीकृत कार्यक्रम कार्यान्वयनमा ल्याउन समस्या भए भन्न आग्रह् गर्नुभयो।

कामपाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले ३ दिनमा तीनकुने पार्क बनाउनु र टेकु ट्रान्सफर स्टेसनलाई शून्य फोहोर बनाउनुलाई तत्कालका उपलब्धिका रुपमा चर्चा रहेको गर्नुभयो। ‘धेरै काम महानगरले गरेको छ, ती कामलाई संस्थागत गर्न तपाईंमा जाँगर चाहिन्छ’ –उहाँको भनाइ छ।

बैठकमा विभागीय प्रमुखहरूले विभागले सम्पादन गर्नुपर्ने काम, ती काम अघि बढाउन तत्काल देखिएका समस्या र समाधानका उपायका बारेमा आफ्नो धारणा राखेका थिए। त्यस क्रममा महानगरका कामलाई चुस्त दुरुस्त तथा छिटो छरितो बनाउन संगठन संरचना र जनशक्ति व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने, जिम्मेवारी लिएर काम गर्ने कर्मचारीको आत्मबल बलियो हुने संयन्त्र बनाउनुपर्नेलगायतका सुझाव विभागीय प्रमुखले दिएका थिए।