‘जनप्रतिनिधिको सुविधा रोकिँदैन’

0
Shares

बाँके, (नेस)।

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनप्रतिनिधिको सेवा सुविधा नरोकिने बताउनुभएको छ। नेकपाले बाँकेका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षणमा बोल्दै मुख्यमन्त्री पोखरेलले सर्वोच्चको फैसलाले जनप्रतिनिधिको सुविधा नरोकिने बताउनुभयो।

‘सर्वोच्चको फैसलालाई सम्मान गर्छौं। कानुनी भाषा मिलाएर सुविधा यथावत राख्छौं’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो– ‘जनप्रतिनिधिले न्यूनतम सुविधा त पाउनै पर्यो नि।’मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधिले सुविधाबेगर काम गर्नु बेठीक भएको बताउनुभयो।

‘पार्टीको पूर्णकालीन हुँदा पनि हामीले सुविधा लिएर काम गरेका हौं। अब पनि सुविधा लिएर नै काम गर्छौं।’ –मुख्यमन्त्री पोखरेलले भन्नुभयो।मुख्यमन्त्री पोखरेलले जनप्रतिनिधि र पार्टीका नेताका बीचमा सुमधुर सम्बन्ध रहन जरुरी औंल्याउनुभयो। ‘पार्टीका नेता र जनप्रतिनिधिका बीचमा राम्रो सम्बन्ध राख्नुपर्छ।

सहकार्य गरेर अघि बढ्नुपर्छ। यसको मतलब स–साना काममा पनि पार्टीका नेताले हस्तक्षेप गर्नुहुँदैन’, पोखरेलले भन्नुभयो– ‘जनप्रतिनिधिहरु विधि र प्रक्रियाद्वारा चल्नुपर्छ। पार्टीका नेताले यो बाटोमा यति पैसा राखिदिनु भन्नु व्यावहारिक हुँदैन।’
मुख्यमन्त्री पोखरेले टुक्रे योजनामा पैसा छरेर काम गर्दा जनप्रतिनिधिको काम नदेखिने भएकाले त्यसतर्फ सचेत रहन सुझाव दिनुभयो। ‘जनताको आफ्नो ठाउँको विकासका लागि दबाब हुन्छ। सबैलाई पुर्याउने भन्दै स–साना योजना बनाएर बजेट छर्ने हो भने आगामी चुनाव आउँदासम्म त्यो हराइसक्छ, यसले जनप्रतिनिधिको काम देखिँदैन।’ –उहाँले भन्नुभयोे।