काठमाडौं, (नेस)।
भारतको बेंगलूरमा कात्तिक ४ बाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणबारे प्रशिक्षण शुरू भएको छ।नेपाल सरकारको अनुरोधमा ६० अधिकारीहरुका लागि तयार पारिएको विशेष कोर्समा नेपाल सरकारका १८ अधिकारीहरुको दोस्रो समूहले भाग लिइरहेको छ।
प्रशिक्षणले सहभागी अधिकारीहरुको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी मामिलालाई प्रभावकारी ढंगबाट सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
भदौ ७ गते पहिलो समूहमा २० नेपाली अधिकारीले ६ दिने मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए भने यही मंसिर–पुसमा २१ नेपाली अधिकारीहरुको तेस्रो समूहले प्रशिक्षण शुरू गर्नेछन्।
नेपालका विभिन्न निकायमा काम गर्ने अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणका रूपमा यस कार्यक्रमलाई लिएको जनाएको छ। भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत रहेको यो कोर्समा भारतकै पूर्ण सहयोग रहेको छ।











प्रतिक्रिया