‘साना राष्ट्रलाई सहयोग जरुरी’

0
Shares

काठमाडौं, (नेस)।

साना तथा अल्पविकसित मुलुकको सुरक्षा र विकास मुद्दाले अन्तर्राष्ट्रियस्तरमा प्राथमिकता पाउनुपर्ने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताउनुभएको छ। नेपाल न्यायपूर्ण र समतामूलक विश्वव्यवस्थाको पक्षमा रहेको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनका कारण साना राष्ट्रले बेहोरिरहेको चुनौती र पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको छ।

चीन भ्रमणमा रहनुभएका पोखरेलले बेइजिङको बेइजिङ–सिन्जुवाङ फोरमलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो। बेइजिङमा जारी नवौं बेइजिङ स्याङ्सन फोरमको साना र मध्यम मुलुकका साझा स्वार्थ र सुरक्षाका विषयको सत्रमा सम्बोधन गर्दै उहाँले आफ्ना तर्फबाट कुनै कमजोरी नहुँदा पनि नेपालले जलवायु परिवर्तनको असर भोगिरहेको बताउनुभयो।

‘नेपालले भोग्नुपरेका समस्याको बारेमा विकसित र औद्योगिक मुलुकको ध्यानाकर्षण गराउन चाहन्छु, हिमालय क्षेत्रको संवेदनशील पर्यावरणबारे सबैमा सचेतना बढाउन आग्रह गर्दछु।’ –पोखरेलले भन्नुभयो।

यस्तै विषयबारे हातेमालो गर्न आगामी चैतमा नेपालले सगरमाथा संवाद नामक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको अवगत गराउँदै उहाँले सो कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो। बेइजिङ फोरममा विभिन्न ६८ देशका ६ सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन्।