जातीय विभेदविरुद्ध सरोकारवालाको प्रतिबद्धता

0
Shares

नेपाल समाचारपत्र, जाजरकोट ।

समाजमा हुने जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन्। नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटले सदरमुकाम खलंगामा अविभेदसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवधारणा र सुधारका उपायसम्बन्धी जिल्लास्तरीय सरोकारवालासँगको संवाद कार्यक्रममा जातीय छुवाछुत र समाजमा हुने विभेद अन्त्यका लागि सरोकारवालाहरुले पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।

जातीय छुवाछुत अन्त्यका लागि सञ्चालन गरिएको कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुले समाजमा हुने सबै प्रकारका जातीय छुवाछुतलगायत विभेदका घटना अन्त्य गर्न सक्रियतापूर्वक लाग्ने बताएका थिए।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले आफ्नो गाउँपालिकामा दलितहरुलाई गर्ने व्यवहारलगायत समाजमा हुने कुनै पनि विभेद अन्त्यका लागि सरोकारवालासँग सहकार्य गर्ने बताउनुभयो।आफ्नो गाउँपालिकाभित्र जातीय एकता सद्भाव कायम गर्नका लागि नीतिगत तथा कानुनी कुराहरुको पहलकदमी चाल्ने बताउनुभयो।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले एकाइसौं शताब्दीमा पनि मान्छे मान्छेमा हुने छुवाछुत र विभेद अहिले पनि समाजमा जस्ताको त्यस्तै भएकोले आउने पुस्ताले छुवाछुत र विभेदलाई पुरै निमिट्यान्न पार्नुपर्ने बताउँदै जातीय छुवाछुतलगायत विभेदका विरुद्ध नगर सरकारले गर्नुपर्ने काम पूरा गर्ने बताउनुभयो। जाजरकोटका दलितहरुको अवस्थाका विषयमा पत्रकार जनक केसी र अधिवक्ता भक्तबहादुर मल्लले समाजमा विद्यमान रहेको जातीय छुवाछुतलगायत विभेद अन्त्यका लागि कानुनमा भएको व्यवस्थाका बारेका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।