हस्तान्तरण गर्न नपाउँदै उप्कियो अपांगमैत्री सडक

0
Shares

विजय नेपाली, पोखरा 

पोखराको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको अपाङ्गमैत्री सडक पेटी हस्तान्तरण गर्न नपाउँदै उप्किएको छ।बजार क्षेत्र मानवअधिकार चोकदेखि चिप्लेढुंगाको सडकपेटीमा बिच्छ्याइएको अपाङ्मैत्री टेक टायल दुई महिना नहुँदै उप्किदै गएको छ। उपभोक्ता समितिमार्फत चिप्लेढुङ्गादेखि सिद्धार्थचोकसम्म डेढ महिना अगाडि त्यहाँ अपाङ्गमैत्री टेक टायल राखिएको थियो।

तर काम सम्पन्न नहुँदै उक्त टायलहरु केही भत्किएका छन् त केही उप्किएका छन्। महानगरलाइ स्मार्ट सिटी बनाउँने भन्दै पछिल्लो १० दिनयता अहिले ती टायल उप्किन थालेका छन्। दायाँबायाँ गरेर झण्डै ७ सयमिटर क्षेत्रमा भैरहवाको एसियन कङ्क्रिट प्रालिले त्यहाँ टाइल बिच्छ्याएको थियो। सडकपेटीमा रहेको पहेँलो रङको सो टायल उप्किन थालेपछि अहिले फेरि मर्मत गर्न थालिएको छ।

फुट ट्रयाकमा जथाभावी मोटरसाइकल चलाउँनाले छोटो समयावधिमा नै टायल उप्किएको कम्पनी बताउँछ। ‘सर्वसाधरण हिँड्नका लागि बनाइएको पेटीमा जथाभावी मोटरसाइकल चलाउँनाले छिटो उप्किएको हो’ –एसियन कङ्क्रिटका सिभिल इन्जिनियर मोहन गौतमले भन्नुभयो। इन्जिनियर गौतमले अब अरू क्षेत्रमा बनाउँदा रसायनको प्रयोग गरेर बलियो बनाउने बताउँनुभयो।

स्थानीय विष्णु भुर्तेल पनि मोटरसाइकल चलाउँदा टायल छिटो उप्किएको बताउँनुभयो। ‘र्याली वा कुनै कार्यक्रम हुँदा यहाँ निकै जाम हुन्छ, त्यस्तो बेला मोटरसाइकलवालाले फुटपाथबाट गुडाउँछन्’, उहाँले भन्नुभयो– ‘मैले प्रत्यक्ष यहाँ धेरैपटक मोटरसाइकल गुडाएको देखेको छु।’

महानगरको वडा नं ४, ८ र ९ का मुख्य बजार क्षेत्रलाई जोड्ने गरी उपभोक्ता समितिमार्फत फुट ट्रयाक बनाउने काम भने अहिले पनि जारी छ। जेठबाट ६ महिनामा सक्ने गरी महानगर र कम्पनी बीच सम्झौता भएको थियो। यसमा महानगरको ६० र कम्पनीको ४० प्रतिशत लगानी छ।

महानगरले अपाङ्ग मैत्री फुट ट्रयाक बनाउँनका लागि १ करोड बजेट छुट्याएको थियो। महानगरले त्यहाँ फुटपाथ बनाउँदा आलोचना नभएको भने होइन। पहिले नै राम्रो रहेको फुटपाथ भत्काएर फेरि बनाउँनु बजेट सक्ने काम मात्र भएको भन्दै आलोचना भएको थियो।

बीपी चोकदेखि सिद्धार्थसम्म फुट ट्रयाक बनाउने काम सकिए पनि महेन्द्रपुलमा बनाउने क्रम जारी रहेको महानगर प्रमुख मानबहादुर जीसीले जानकारी दिनुभयो। उहाँले पोखराका मुख्य बजारमा ट्राफिक लाइट जडानको काम पनि अगाडि बढिरहेको बताउनुभयो। ‘अहिले निर्माण कम्पनीसँग सम्झौता भएबमोजिम काम भएको हो योजना हस्तान्तरणसमेत भएको छैन, निर्माण कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गर्छ’ –जीसीले भन्नुभयो।