नेकपालाई कार्यकर्ता समेट्न मुश्किल


फिदिम । दुई मुख्य वामपन्थी दलको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निश्चित मापदण्डमा कार्यकर्तालाई समेट्नै कठिन परेको छ । नेकपा पाँचथरले आज फिदिममा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा पार्टीका गाउँ/नगर कमिटीका सदस्यसम्मलाई सहभागी गराइएको थियो । तर विगतमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेता कार्यकर्तासमेत उक्त मापदण्डमा नसमेटिएपछि कार्यक्रममा सहभागी गराउन नेकपालाई सकस परेको देखियो ।

जिल्लास्तरमा विभाग तथा आयोग नबनेको तथा भ्रातृ तथा जनवर्गीय सङ्गठन निर्माण नहुँदा धेरै कार्यकर्ता समेट्ने आधार नभएको नेकपाले बताएको छ ।

तत्कालीन नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी तथा गाउँ/नगर कमिटीका कतिपय पदाधिकारी तथा सदस्यलेसमेत हालसम्म जिम्मेवारी पाउन सकेका छैनन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका पूर्वमन्त्री श्रीप्रसाद जवेगुले हालसम्म कुनै पनि जिम्मेवारी पाउनुभएको छैन । अर्का तत्कालीन पोलिटब्युरो सदस्य नरबहादुर दुलालसमेत जिम्मेवारीविहीन हुनुहुन्छ । तत्कालीन एमालेका राष्ट्रिय परिषद् सदस्य गणेशकुमार काम्बाङ, जिल्ला नेता थुमनाथ चापागाईं जिम्मेवारीविहीन हुनुहुन्छ । नेकपा पाँचथरका कार्यालय सचिव पृथ्वी लावतीका अनुसार विगतमा दुई पार्टीका जिल्ला कमिटीका केही सदस्यले गाउँ/नगर कमिटीमा समेत जिम्मेवारी पाएका छैनन् ।

यस्तै सक्रिय नेताले कार्यकारी जिम्मेवारी नपाउँदा नेकपामा जिल्लास्तरमा खटपटसमेत देखिने गरेको छ । जिल्लाबाट नेकपाका ११ जना प्रदेश कमिटी सदस्यमध्ये राजकुमार भण्डारी जिल्ला अध्यक्ष, होमबहादुर जवेगु जिल्ला सचिव हुनुहुन्छ । बाँकी नौ जना नेताहरुले कार्यकारी जिम्मेवारी पाएका छैनन् । गाउँ/नगर कमिटीका पदाधिकारी तथा जनप्रतिनिधि बाहेकका सदस्य बेरोजगार जस्तै हुनुपरेको जिल्ला कमिटी सदस्य राजन खतिवडाको गुनासो छ ।

आजको कार्यक्रममा नेताहरुले अतिथिको रुपमा आमन्त्रण गरिए पनि कतिपय कार्यकर्ताले आफूहरु पार्टी मापदण्डमा नपरेको भन्दै असन्तुष्टि जनाएका थिए । पार्टीले कतिपयलाई स्वयंसेवकका रुपमा कार्यक्रममा सहभागी गराएको थियो भने कतिपय कार्यकर्ता कार्यक्रममै सहभागी नभई बसेका थिए । दुई पार्टीको एकतापछि जिल्लास्तरमा कुनै पनि सार्वजनिक कार्यक्रम नभएको भन्दै कतिपय कार्यकर्ताले आमसभा गरिनुपर्ने मागसमेत गरेका थिए ।

यस्तै यहाँका तीन स्थानमा उपनिर्वाचन हुन लागेकाले वर्तमान सरकार सञ्चालन गरिरहेको पार्टीको शीर्ष नेतृत्वले स्थानीयका गुनासा सुन्नुपर्ने कार्यकर्ताले माग गरेका थिए ।

नेकपा जिल्ला कमिटीका अध्यक्ष राजकुमार भण्डारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा महासचिव विष्णुप्रसाद पौडेलसँग जिम्मेवारी नपाएका नेता कार्यकर्ता जिम्मेवारी दिन आग्रह गर्नुभयो । “लामो समयदेखि जिम्मेवारी नहुँदा नेता कार्यकर्तामा आलस्य पैदा हुँदै गएको छ”, अध्यक्ष भण्डारीले भन्नुभयो, “सबैलाई चाँडोभन्दा चाँडो जिम्मेवारी दिएर पार्टी निर्माणमा जोड्नुपर्ने आवश्यकता छ ।”

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको बाँकी काम सम्पन्न गर्न ढिलाइ भए पनि अब लामो समय नलाग्ने बताउनुभयो । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले तीन महीनामा सम्पन्न गर्नुपर्ने एकताको काम १७ महीनामा पनि नसकिएको भन्दै आफूहरुलाई आत्मग्लानी भएको बताउनुभयो ।

“एक वर्षमा एकता सम्पन्न होला भन्ने थियो । यति लामो समय लम्बिँदा हामीलाई पनि अप्ठ्यारो भएको छ”, पौडेलले भन्नुभयो । महासचिव पौडेलले अब केही दिनमा केन्द्रदेखि जिल्लासम्म अड्किएका एकताको काम सम्पन्न गरिने कार्यकर्तालाई जानकारी गराउनुभएको थियो ।

प्रशिक्षणमा नेकपाका स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले कानूनी शासन स्थापनाको प्रयत्न गरेको बताउँदै अफवाह चिर्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो । “हामीले हाम्रा नेताहरुले दोषी देखिएको ठाउँमा कानूनी कारवाही हुनुपर्छ भनेर जोड दियौँ । सरकारले कुनै कञ्जुस्याइँ गरेन्”, नेम्वाङको भनाई उद्धृत गर्दै कार्यक्रममा सहभागी नेकपाका जिल्ला सदस्य राजन खतिवडाले भन्नुभयो, “कानूनी राज्य निर्माणमा सक्रियता देखाएकामा आफ्ना नेताहरुको प्रशंसा गर्न नेम्वाङले आग्रह गर्नुभयो ।”