६२ प्रतिशत खेती योग्य जमिनमा सिंचाई अभाव


रोशनी भट्टराई, विराटनगर ।

प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै पर्याप्त सिंचाई पुग्न नसकेको एक तथ्याङले देखाएको छ । सिंचाई नपुग्दा उत्पादकत्वमा समेत कमी आएको छ । ३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव डाक्टर बिमलकुमार निर्मलले यस्तो जानकारी दिएका हुन ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे निर्मलले प्रदेश नम्बर १ ले आवद्यिक योजना बनाइसकेको जानकारी गराउदै सिंचाईको सुविधा बढाउन सके उत्पादकत्व बढेर जाने स्पष्ट पारे । उनले प्रदेश नम्बर १ मा आगामी ५ बर्षभित्रमा मकै २ दशमलब ५ प्रतिशतबाट ४ दशमलब २५ मेट्रिक टन उत्पादकत्व बढाउने योजना रहेको बताए । यस्तै धान ३ दशमलब ५ प्रतिशतबाट ५ मेट्रिक टन उत्पादकत्व बढाउने, माछा, ४ दशमलब ८ बाट ६ मेट्रिक टन उत्पादकत्व बढाउने लक्ष्य रहेको बताए ।

यस्तै नेपाल संसारका ७८ राष्ट्रहरु मध्ये विश्वव्यापी भोकमारी सुचाङ्कमा ४९ औं स्थानमा रहेको सो अवसरमा उनले जानकारी दिए । उनले नेपालका ३३ जिल्लाहरु खाद्यय सुरक्षाको मारमा परेको बताउदै अधिकांश नेपालको मध्य तथा सुदुर पश्चिमका हिमाली क्षेत्रका जिल्लाहरु यसबाट प्रभावित रहेको बताए ।

नेपालमा भोकमुक्त संसार तथा गरिबी न्युनीकरणका लागि खाद्य पदार्थको उत्पादनमा वृद्धि , उत्पादित खाद्यय बस्तुको उचित भण्डारण र फुड बेस्ट न्यूनीकरण गर्न लाग्नु पर्नेमा उनले जोड दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय प्रदेश १ का निर्देशक बेनुप्रसाद प्रसाईले नेपालमा खाद्यय सुरक्षाको अवस्था तथा गरिबी निवारणमा सहकारीको भूमिकाको बिषयमा मन्त्रालयका तोयानाथ तिम्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर १ का व्यवसायीक कृषकहरुको सहभागीता रहेको थियो ।