गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण


प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको दुईवटा वडाका नागरिकहरुला ई वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । बेनी नगरपालिका–४, सिङ्गा र ५ पुलाचौरमा वडा कार्यालयबाट गाउँमै चालु आर्थिक वर्ष अन्तर्गत पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गरिएको हो ।

सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिका र प्रभु बैंक बेनी शाखा म्याग्दीबीच आपसी सम्झौता गरी बैंकमार्फत वडा कार्यालयमै पुगेर भत्ता वितरण गरिएको बैंकले जनाएको छ । सिङ्गाका ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधुवा, अपाङ्गता भएका व्यक्ति र बालबालिकासहित कुल २ सय ७५ जनालाई २५ लाख ११ हजार दुईसय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रभु बैंक बेनी शाखाका प्रवन्धक लालकुमारी खड्काले जानकारी दिनुभयो ।

ज्येष्ठनागरिक १ सय १७ जनालाई १४ लाख चारहजार, दलित ज्येष्ठनागरिक ३८ जनालाई तीनलाख २८ हजार, एकल महिला १४ जनालाई एकलाख २८ हजार, विधुवा ५६ जनालाई चारलाख ५६ हजार, आंशिक अपाङ्ग २४ जनालाई एकलाख ५३ हजार छ सय र २६ जना बालबालिकाहरुलाई ४१ हजार छ सय रुपैयाँ वितरण गरिएको छ । उनीहरुलाई बेनी नगरपालिका–४, का वडा अध्यक्ष गोविन्द पौडेल, सचिव सकुन्तला अधिकारी, प्रभु बैंक बेनी शाखाका प्रवन्धक लालकुमारी खड्कासहितको टिमले भत्ता वितरण गरेको थियो ।

यसैगरी पुलाचौरमा पनि ज्येष्ठनागरिक, दलित ज्येष्ठनागरिक, एकल महिला, विधुवा, अपाङ्गता भएका व्यक्ति र बालबालिकासहित कुल ३ सय ६६ जनालाई ३० लाख १२ हजार आठसय रुपैयाँ नगद भत्ता वितरण गरिएको प्रवन्धक खड्काले बताउनुभयो । ज्येष्ठनागरिक १ सय ३३ जनालाई १५ लाख ९६ हजार, दलित ज्येष्ठनागरिक ८२ जनालाई सातलाख ३२ हजार, एकल महिला १६ जनालाई एकलाख ४८ हजार, विधुवा ४१ जनालाई तीनलाख २० हजार, आंशिक अपाङ्ग २० जनालाई ५१ हजार दुईसय, पूर्ण अपाङ्ग ३ जनालाई ३६ हजार र ८२ जना बालबालिकाहरुलाई एकलाख २९ हजार छ सय रुपैयाँ वितरण गरिएको छ ।

उनीहरुलाई वडा अध्यक्ष लक्ष्मण बानियाँ, सदस्य रामप्रसाद सुवेदी, वडा सचिव कृष्णबहादुर बानियाँ र प्रभु बैंक बेनी शाखाका कर्मचारीले भत्ता वितरण गरेका थिए । दुई–दुई दिनका दरले सिङ्गा र पुलाचौरका नागरिकलाई भत्ता वितरण गरिएको बताइएको छ । गाउँमै पुगेर वडा कार्यालयमा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता गरेपछि ज्येष्ठनागरिकहरु खुसी भएका छन् । यसैगरी वडा कार्यालयसम्म आएर भत्ता लिन नसक्नेहरुलाई भने घरमै पुगेर भत्ता वितरण गरिने बैंकका बेनी शाखा प्रवन्धक खड्काको भनाइ छ ।

सरकारले ७० वर्षदेखि माथिका ज्येष्ठनागरिकलाई क्रमशः मासिक तीनहजार, ६० देखि ७० वर्षसम्मका दलित ज्येष्ठनागरिकलाई दुईहजार, विधुवा र एकल महिलालाई दुईहजार, अपाङ्गता भएका ‘क’ वर्गका व्यक्तिलाई तीनहजार, ‘ख’ वर्गलाई एकहजार छ सय र बालबालिकालाई पोषण भत्तास्वरुप मासिक चारसय रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तत्कालीन २०५१ सालमा निर्वाचित मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारले ज्येष्ठनागरिकलाई मासिक एकसय रुपैयाँ दिने गरी सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको सुरुवात गरेको थियो ।