निमार्ण सम्पन्न नहुदै भत्कियो सात लाख बजेटको नाला


रोशनी भट्टराई, विराटनगर ।

विराटनगर महानगरपालिका जनपथटोलमा निर्माणाधीन नाला निर्माण सम्पन्न हुनु अगावै भत्किएको छ । उपभोक्ता समितिमार्फत निर्माणाधिन १३० मिटर नाला ५ महिना बित्दा पनि निर्माण पूरा हुन सकेको छैन । विराटनगर–११ जनपथटोलस्थित रौनियार सेवा सदन अगाडिको सडकमा निर्माण गर्न लागिएको नाला निर्माण सम्पन्न हुनु अगावै भत्किएको हो ।

कमसल निर्माण सामग्री प्रयोग गरिएका कारण नाला भत्किएको स्थानीयले दाबी गरेका छन् । ठाउँठाउँमा नाला टुटफुट भए पनि लथालिङ छाडिएका कारण स्कुल जाने बालबालिकाहरु दैनिकजसो नालामा खसेर घाइते हुने गरेको स्थानीयले जानकारी दिएका छन् । वडा समितिको ७ लाख बजेटबाट उपभोक्ता समितिमार्फत सो ठाउँमा नाला निर्माण कार्य हुँदैछ । सो सडकको पूर्व–दक्षिण किनारमा १३० मिटर निर्माण गर्नुपर्ने भए पनि निर्माण सुरु भएको ५ महिना बितिसक्दा हालसम्म ९० मिटर मात्र निर्माण गरिएको छ भने निर्माण गरिएको नाला अधिकांश ठाउँमा ढलेको छ । निर्माण सुरु गरिएको नाला दुई सातापछि भत्किएको स्थानीय मेहजबी बानोले जानकारी दिए ।

निर्माणाधीन नाला भत्किएको बिषयमा विराटनगर महानगरपालिकालाई पटकपटक जानकारी गराँउदा पनि कुनै सुनवाई नभएको स्थानीयले गुनासो गरेका छन् । यता सो वडाकी वडासदस्य रिंकु परियारले स्थानीय एक–दुई परिवारले साइड क्लियर गर्न नमानेको तथा अनावश्यक विवाद सृजना गरेका कारण निर्माण लम्बिएको जानकारी दिइन । निर्माण गरिएको नाला केहि दिनमै भत्किएपछि आफुहरुसमेत चकित रहेको उनको भनाइ छ ।

घना बस्तीको बीचमा रहेको भत्किएको नाला लथालिङ छाडिएपछि सडकमा ढल र घरबाट निस्किएको फोहोर पानीले निकास नपाएका कारण समस्या थप जटिल भएको छ । संधैभरि सडक भएरै बगिरहने फोहोर पानीका कारण सो सडक र आसपासका बासिन्दा दुर्गन्धित वातावरणमा बस्न बाध्य भएका छन् ।