अमेरिका मोहले राहदानी बनाउनेको भिड, सेवाग्राहीको राती सम्मै लाम


रामचन्द्र वि.क., रामेछाप ।
दशैं सकिए लगत्तै जिल्ला प्रशासन कार्यालय रामेछापमा राहदानी लिने सेवाग्राहीको संख्या बढेको छ । अमेरिकी इलेक्ट्रोनिक डाइभर्सिटी भिसाको फर्म भर्न राहदानी नम्बर अनिवार्य गरिए पछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भीड बढेको हो ।

डीभीको फर्म भर्दा अनिवार्य रुपमा राहदानी नम्बर सहितको अभिलेख समावेश गर्नै पर्ने भएपछि गत साता देखि सेवाग्राहीको संख्या बढेको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेल बताउनुभयो ।

‘दशैं सकिएसँगै राहदानीको लागि आउने सेवाग्राहीको संख्या ह्वत्तै बढेको छ’, प्रजिअ केसी पाण्डेले भन्नुभयो– ‘यस अघि रोजगारीको लागि मात्रै राहदानी बनाउन आउने भएका हुँदा दैनिक २० देखि २५ जनाको हाराहारीमा आउने गर्थे तर अहिले दैनिक ४० जना भन्दा बढीको संख्यामा आएको हुनले डीभी भर्नको लागि राहदानी बनाउन आउनेको संख्याले गर्दा राहदानीको लागि आउनेको संख्या बढी भएको देखिन्छ ।’
डीभीको फर्म खुल्नु पहिला जिल्लाबाट राहदानी बनाउने र राहादनी विभागबाट बनाउनको लागि सिफारिस लिन आउने झण्डै बराबरी हुन्थे तर अहिले विभागबाटै बनाउनको लागि सिफारिस लिन आउनेको संख्या बढी भएको पनि प्रजिअ केसी पाण्डेले बताउनुभयो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिने सेवाग्राहीको पनि उतिकै भिड बढेको प्रजिअको भनाई रहेको छ । कार्यालयमा सेवा लिने सेवाग्राहीको भिड लाग्न थाले पछि कार्यालयले राती अबेर सम्म बत्ती बालेर नागरिकलाई सेवा दिईरहेको छ ।

रामेछापको दुर्गम भुभागबाट सेवाग्राही आउने गरेकाले उनिहरुको कामलाई प्राथमिकतामा राखेर राती सम्म बत्ती बालेरै भए पनि सेवा दिइरहेको प्रजिअ लिला कुमारी केसी पाण्डेले बताउनुभयो ।