नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गरेखा बनाउन सम्मेलन

0
Shares

नेपाल समाचारपत्र, बाँके।खजुरा गाउँपालिकाले गाउँपालिकाको नीतिगत प्राथमिकता र योजना निर्माणको मार्गरेखा तय गर्न बृहत खजुरा सम्मेलन गर्ने भएको छ।कात्तिक ६ र ७ गते आयोजना गरिने बृहत सम्मेलनको ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्दैछन्।

सम्मेलनमा कामको सिलसिलामा बाहिर बसेका खजुराका २ सय ५० जनाको सहभागिता रहने गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो। सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न खजुरा गाउँपालिकाका शिक्षाविद् भक्तबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ।

सम्मेलनलाई फलदायी बनाउन विभिन्न नौ वटा कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको छ। विषयविज्ञले आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तिकरणमा खजुरा, खजुरामा कृषि : समृद्ध खजुराको आधार, गुणस्तरीय र प्राविधिक शिक्षाको मार्गरेखा, गुणस्तरीय स्वास्थ्य सेवा र खजुरा, समावेशी खजुरा, खेलकुद र सिर्जनशील खजुरा विषयका कार्यपत्र प्रस्तुत हुनेछन्।

कार्यपत्रमाथि सम्बन्धित विज्ञको टिप्पणी हुनेछ। हरेक कार्यपत्रको अध्यक्षता छुट्टाछुट्टै हुने र कार्यपत्रमाथि विशेष छलफल भएर पारित गरिने गाउँपालिकाका विज्ञ समूहका सदस्य किरण ढकालले जानकारी दिनुभयो।

गाउँपालिकाका अनुसार, खजुराको समृद्धिको आधार, अवसर र संभाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्ने सहज वातावरण बनाउन, सहभागितामूलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दिगो र समतामूलक विकासको आयम, प्रवद्र्धनका अभ्यास र यसको प्रभावबारे सिकाइ आदान प्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

विकासमा सबै खजुरेलीको साझेदारी बनाउने प्रक्रियालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको खजुरा सम्मेलनले नीतिगतरूपमा पनि ठूलो टेवा पुर्याउनुका साथै समृद्ध खजुराको सपना पूरा गर्न कोशेढुंगा सावित हुने अध्यक्ष कक्षपतिले विश्वास लिनुभयो।

सोमबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष कक्षपतिले ‘समृद्ध खजुरा, खुसी खजुरेली जनता’को अभियानलाई सफल बनाउन स्वदेश र विदेशमा रहेका खजुरेलीलाई समेटेर बृहत सम्मेलन गर्न थालेको बताउनुभयो। उहाँले खजुरा घर भई अन्यत्र बसेका व्यक्तित्वलाई सहभागिता गराएर खजुराको विकासमा अपनत्व कायम गराउन थालेको बताउनुभयो।