तम्घास–सिमलटारी २८ किमि सडक कालोपत्रे



अनिल खत्री, गुल्मी।गुल्मी सदरमुकाम तम्घासबाट पश्चिमतर्फ ग्रामीण भेगमा पुग्ने मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन्। तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम सम्पन्न भएको हो।

गुल्मी सदरमुकाम तम्घास जोडिने सडकपछि सदरमुकामबाहिर ग्रामीण भेगमा पुग्ने सडकमध्ये तम्घासदेखि सिमलटारीसम्म सडक कालोपत्रे सकिएको छ। तम्घासबाट सिमलटारीसम्म २०४३ सालतिर सडकको ट्याक खोल्ने कार्यअगाडि बढेको थियो।

केही भागबाहेक सबै छल्दी खोलाबाट सवारी साधन आवत–जावत गर्ने गर्दथे। तर सडक सुचारू भएको झन्डै ३० वर्षपछि भने कालोपत्रे भएको छ।

सडक पक्की भएसँगै यस भेगमा यात्रा गर्ने सवारी साधन र स्थानीय ढुक्कसँग यात्रा गर्ने गर्छन्। तम्घासबाट सिमलटारी पुग्नका लागि पहिले अढाइ घण्टा लाग्ने बाटो अहिले एक घण्टामै पुग्न सकिन्छ।

बाटो कालोपत्रे भएपछि यसभेगका स्थानीय खुसी छन्। ठूलो सडक त्यसमाथि कालोपत्रेमा यात्रा गर्न पाउँदा यसभेगका स्थानीय सुखको अनुभूति गरेका छन्। सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका र इस्मागाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्।

बाटो कालोपत्रे भएपछि सवारी साधनको भाडा पनि घटेको छ।भाडा घटेसँगै पक्की बाटोमा यात्रा गर्दा यसभेगमा चल्ने सवारी साधान र यात्रु स्थानीयलाई सहज भएको बताउँछन्। सडक कालोपत्रे गर्न ०७२ सालदेखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो।

सडकको साढे ५ मिटर चौडाइ कालोपत्रे गरिएको हो। तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिनियर सुनित केसी बताउनुभयो।

८७ करोड ९१ लाखको लागत रहेको सकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपियाँ खर्च भइसकेको इन्जिनियर केसी बताउनुभयो। तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदन भण्डारी राजमार्गले जनाएको छ।

राजमार्गको अन्य सडक चिह्न, किलोमिटरलगायतका संकेत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ। सोही राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्राबेल गर्ने काम सम्पन्न भएको छ। सिमलटारीदेखि पुर्कोटसम्मको भाग अहिले कालोपत्रे गर्ने कार्य अगाडि बढेको छ।

प्रतिक्रिया दिनुहोस्