‘वैकल्पिक शक्तिका रूपमा राप्रपा’

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा वैकल्पिक शक्तिका रूपमा उदाउने दाबी गर्नुभएको छ। राप्रपा मध्यपुर नगर कार्यसमितिले भक्तपुरका संस्थापक नेता समाजसेवी एवं संस्कृतिकर्मी स्व. लक्ष्मीभक्त लाखेको स्वर्गारोहणको ४५औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो।

थापाले राजनीतिक आरोह अवरोहका क्रममा विगतमा आन्तरिक कमजोरीका कारण राप्रपा कमजोर अवस्थामा पुगेको भए पनि देशको मौलिक धर्मसंस्कृति, परम्परा, राष्ट्रियताप्रति प्रतिबद्ध रहने वैकल्पिक शक्तिका रूपमा उदाउने बताउनुभयो।

उहाँले जनताको अभिमतद्वारा संविधानको परिधिभित्रै रहेर राप्रपालाई राष्ट्रिय पार्टीका रूपमा स्थापित गराउने बताउनुभयो। राप्रपाले बोकेको नीति र सिद्धान्त नेपाली जनतामाझ लोकप्रिय भएकाले अहिलेकै संविधानलाई स्वीकार गर्दै जनतामाझ जाने उहाँको भनाइ थियो।

देशको अवस्था अहिले जटिल रहेको बताउँदै उहाँले धर्मसंस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके नेपालको पहिचान र अस्तित्व गुम्ने बताउनुभयो। अहिले योजनाबद्ध रूपमा प्राचीन र मौलिक धर्ममाथि आक्रमण भइरहेको भन्दै उहाँले नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो।

राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको बताउँदै उहाँले यो अभियान कुनै पार्टी वा धर्मविरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको बताउनुभयो। धर्म र संस्कृति संकटमा परेका बेला सबै एकजुट भएर संरक्षण गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो।

आफ्नो देशको धर्म, संस्कृति, पहिचान र अस्तित्व संकटमा पर्दा पनि जनता चुप लागेर बस्न हुँदैन भन्नुभयो।उहाँले परिवर्तनका नाममा हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको राजसंस्थालाई पाखा लगाइएको, एकात्मक देशलाई संघीयतामा लादिएको र देशमा अस्थिरता निम्त्याउने काम भएको आरोप लगाउनुभयो।

कार्यक्रममा राप्रपा नेता लक्ष्मीप्रसाद संग्रौला, नरगोविन्द शंखदेव, यवती कार्की, राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्री, राप्रपा मध्यपुर नगर कार्यसमिति सभापति विकास प्रजापतिलगायतले राप्रपा वैकल्पिक शक्तिका रूपमा उदाएको भन्दै स्व. लक्ष्मीभक्तले पार्टी, समाज र संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो।