साउन महिनाको शुरूआत भएपछि महिलाको दिमागमा रातो, हरियो र पहेंलो तीन रङ आउँछन् र यही रङका कपडा चुरा–पोतेहरू महिलाले बढी प्रयोग गरेको पाइन्छ। साउन महिना लागेपछि रातो, हरियो, पहेंलो कलरका सारी, चुरा, पोतेमा सजियर आफूलाई नवदुलहीसरी सिंगार गर्दछन् र यो क्रम प्रायः भदौमा पर्ने महिलाको महान् चार्ड तीजसम्म जारी रहन्छ। साउन महिनाको सोमबारभरि तथा तीज तथा पञ्चमी व्रतमा महिला दिदीबहिनीले शिवको पूजा–आराधना गरी व्रत बस्ने गर्दछन्।
यसरी पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगायर गर्दा चोखो मानिनुका साथै शुभ मानिने भएकाले यी महिनामा मेहन्दीको धेरै डिमान्ड हुन्छ।मेहेन्दीको प्रयोग ५ हजार वर्ष अघिदेखि नै शुरू भएको हो। एउटा संस्कारका रूपमा विकास भएको मेहन्दी लगाउने चलन अहिले फेसनका रूपमा विकास भएको छ। जे भए पनि मेहन्दीले मानिसको स्वास्थ्यमा पनि राम्रो फाइदा पुर्याउँछ।
मेहन्दी शब्द नेपाली बीच परिचित छ। साउन महिनामा मेहन्दीको निकै चर्चा हुन्छ। साउन महिनालाई मेहन्दीको मौसम पनि भनिन्छ। साउन महिना लागेपछि घर–घरमा मेहन्दी लगाइन्छ। मेहन्दी, जसलाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरीरका भागहरूलाई सजाउन प्राचीन कालदेखि प्रयोग गरिँदै आएको वनस्पतीय सामग्री हो। यसलाई विशेष गरी हात–खुट्टामा लगाइन्छ।
सन् १९९० को दशकदेखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ।तर, साउन महिनादेखि चाहिँ सडकपेटीमा मेहन्दी लगाउने ग्राहकको ताँती धेरै हुन्छ र दिन प्रतिदिन यसको लोकप्रियता पनि बढिरहेको छ। नारीको सोह्रशृंगार मेहन्दीबिना अपूरो हुन्छ। यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ। मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ।
मेहन्दी लगाउनका लागि हिना नामक बिरुवाको पातलाई सुकाई पिसेर धूलो बनाउने। धूलोलाई मलमलको कपडामा दुई/तीनपटक छान्ने। कागतीको रसमा १० थोपा नीलगिरीको तेल हालेर मेहन्दीको धूलो राखी भिजाउने। पानीमा इमली र चियाको पात हाली उमाल्ने। त्यसपछि पानी छानेर आवश्यक मेहन्दीको धूलो हाली भिजाउने।
गिलो मेहन्दीलाई प्लास्टिकको कागजको कोण बनाई आफूले चाहेको बुट्टा बनाएर प्रयोग गर्ने। बुट्टा सुक्न थालेपछि एक प्याला कागतीको रस र चिनीको मिश्रण तयार गर्ने। हातखुट्टामा लागेको मेहन्दी सुकेर नखसोस् भनेर यो मिश्रण पटक–पटक मेहन्दीमा लगाउनुपर्छ। लगाएको मेहन्दी चार/पाँच घन्टापछि निकाल्नुपर्छ। मेहन्दी निकालेपछि १२ देखि १४ घन्टासम्म त्यो भागमा पानी पार्नुहुँदैन।
यसो गर्दा मेहन्दीको रंग गाढा हुन्छ। मेहन्दी निकालेपछि तोरीको तेल लगाउनुपर्छ। कराही वा तावामा चारवटा ल्वाङका चुर्ण बनाएर हातमा घस्ने र त्यसपछि हातलाई आगोको रापमा सेक्ने।
मेहन्दी लगाउदा गाडा बस्यो भने आफूलाई माया गर्नेले धेरै माया गर्छ भन्ने पुरानो भनाइ छ त्यसैअनुरूप कतिपय महिला दिदीबहिनी मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा पेट्रोल, डिजेल, मट्टीतेल तथा विभिन्न किसिमका एसिड मिसाउँछन् जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छन्।
यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखापर्न सक्छन्। त्यसैले सकेसम्म केमिकलरहित प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ। मेहन्दी विभिन्न नाम गरेर पाउँछौं जस्तै अरेबिक मेहन्दी, यासमिन अरेबिक, कोहिनुर अरेबिक, लाजवाब अरेबिक, खुबसुरत अरेबिक, फेन्सी अरेबिक, निखार अरेबिक, आसिकी अरेबिक, इन्डो अरेबिक, शैली अरेबिक, सार्ली अरेबिक, रुचिरा अरेबिक, सानिया अरेबिक, दुलहन मेहन्दी, कास्मिरी मेहन्दी, गोल्डेन मेहन्दी, मेटालिका मेहन्दी, फेब्रिक मेहन्दी, ब्ल्याक मेहन्दी, मिनाकारी मेहन्दी, राजस्थानी मेहन्दी आदि। देश र भेषअनुसार बुट्टाको नाम र मेहन्दीको नाम पनि हामी फरक–फरक पाउन सक्छौं।
कोहीलाई मेहन्दी हानिकारक हुन सक्छ। त्यसैले यसको प्रयोग गर्नुभन्दा पहिले शरीरको कुनै पनि भागमा एक थोपा लगाई परीक्षण गर्नुपर्छ। चिलाउने फोका आउने गरेमा त्यस्तो एलर्जी स्किन प्रयोग नगर्नु राम्रो हुन्छ।
सुषमा महरा
महिला उध्यमी तथा सौन्दर्यविद ब्युटिसियन
फेसियल हाउस
प्रतिक्रिया