दार्चुलामा तिन हजार प्रतिष्ठान रहेको नतिजा सार्वजनिक


किरन धामी, दार्चुला ।

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजाले दार्चुला जिल्लामा कुल तिन हजार चार सय १३ प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।

तथ्याङ्क कार्यालय दार्चुला द्धारा आज आयोजित राष्ट्रिय आर्थिक गणना २०७५ नतिजा सार्वजनिक गोष्ठीमा दार्चुला जिल्लामा तिन हजार चार सय १३ वटा प्रतिष्ठानहरु रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो । तथ्याङ्क कार्यालय दार्चुलाले २०७५ वैशाख १ गते देखी जेठ मसान्त सम्म गरेको गणनामा ती प्रतिष्ठानमा दश हजार आठ सय ३७ जनशक्ति कार्यरत रहेको नतिजाले देखाएको छ ।

यसमध्ये सात हजार तिन सय ५४ पुरुष र तिन हजार चार सय ८३ महिला जनशक्ती संलग्न रहेको गणनाको तथ्याङ्कले देखाएको छ । दर्ता भएका व्यावसायिक प्रतिष्ठानहरुलाई मात्रै गणना गर्दा सो संख्यामा जनशक्ती संलग्न रहेको पाइएको हो ।

जिल्लामा एक हजार चार ६१ वटा प्रतिष्ठान दर्ता नभएको पाइएको छ, भने एक हजार नौ सय ५२ वटा प्रतिष्ठान मात्रै दर्ता भएको तथ्याङ्क छ । प्रतिशतका हिसाबले जिल्लामा दर्ता नभएका प्रतिष्ठान ४२ दशमलव ८ प्रतिशत तथा दर्ता भएका प्रतिष्ठान ५७ दशमलव २ प्रतिशत रहेका छन् । आर्थिक गणनाको नतिजामा जिल्लाका नौ वटै स्थानिय तहका प्रतिष्ठान र संलग्न जनशक्तीको संख्या समावेश गरिएको छ ।

जिल्लाको ब्याँस गाउँपालिकामा २ सय १५, दुहुँ गाउँपालिकामा १ सय ९४, महाकाली नगरपालिकामा १ हजार १ सय ६९, नौगाड गाउँपालिकामा २ सय ३०, अपिहिमाल गाउँपालिकामा १ सय ४१, मार्मा गाउँपालिकामा २ सय ६४, शैल्यशिखर नगरपालिकामा ५ सय २४, मालिकार्जुन गाउँपालिकामा ३ सय ९३ र लेकम गाउँपालिकामा २ सय ८३ प्रतिष्ठान रहेका छन् ।

सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई वस्तु तथा उत्पादनको विवरण गणनामा समावेश छ । कृषि, वन, माछापालन, व्यवसाय देखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, मानव स्वास्थ्य, वित्तिय तथा बीमा, औद्योगिक उत्पादन, थोक तथा खुद्रा व्यापार, शिक्षालगायत क्रियाकपालालाई गणनामा समावेश गरिएको छ । तथ्याङ्क कार्यालय दार्चुलाका प्रमुख पदमराज पाण्डेयले नतिजा सार्वजनिक गर्दै विवरणले देशको आर्थिक तथ्याङ्कको आधार खडा गर्ने बताउनुभयो ।