विदेशीयका युवा वैज्ञानिकले मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण : उपराष्ट्रपति पुन


न्युज अफ नेपाल, काठमाडौँ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशीयका युवा वैज्ञानिकलाई देशको समृद्धि र विकासका लागि स्वदेश फर्कन आह्वान गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।”

। बेलायतमा भएको औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको जनउदै पुनल नेपाली वैज्ञानिकहरुले पनि विज्ञान प्रविधिलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित सन्देश पनि प्रस्तुत गरिएको थियो । जसमा प्रधानमन्त्री ओलीले यस कार्यक्रमले युवा वैज्ञानिकहरु प्रति प्रोत्साहन गर्ने जनाउनुभएको छ ।

सो कार्यक्रममा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका नेपाली युवा वैज्ञानिकले सहभागीता जनाएका छन् । समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।