बोलिभियामा राष्ट्रपतिको निर्वाचन, पहिलो चरणमा मोरालेसको अग्रता


ला पाज । राष्ट्रपतिको चौथो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका इभो मोरालेस अरु उम्मेदवारभन्दा झिनो मतले अगाडि हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतगणनामा मोरालेस र उहाँका मुख्य प्रतिस्पर्धी कार्लोस मेसाबीच करिब ७ प्रतिशत मतान्तर देखिएको छ ।

मोरालेसले कूल गणना गरिएको मतको करिब ४५ प्रतिशत र मेसाले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

सन् २००५ मा पहिलो पटक मुलुकको राष्ट्रपतिमा निर्वाचित हुनुभएका मोरालेसले त्यसपछिका कुनै पनि प्रतिस्पर्धामा दोस्रो चरणको मतदानको सामना गर्नु परेको थिएन ।

पूर्व कोका कृषक एवं वामपन्थी युनियनका नेता मोरालेसले स्रोतसाधन सम्पन्न तर अति गरिब मुलुक बोलिभियामा १३ वर्ष शासन गरिसक्नु भएको छ । तर पछिल्लो समय भ्रष्टाचार र अधिनायकवादी शैलीका कारण उहाँ विरुद्धको जनमत बढ्दै गएको छ ।

मोरालेस विरुद्ध ६६ वर्षीय पूर्व राष्ट्रपति मेसाले कडा टक्कर दिनु भएको छ । मेसा सन् २००१ देखि २००५ सम्म बोलिभियाको राष्ट्रपति हुनुहुन्थ्यो । मेसाले मोरालेसको बामपन्थी सरकार भ्रष्टाचारमा अल्झिएको भन्दै निरन्तर आलोचना गर्दै आउनुभएको छ ।

दक्षिण कोरियामा जन्मेका पादरी ची ह्यून चुङले पनि अप्रत्यासित रुपमा ८।७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । आगामी डिसेम्बर १५ मा हुने दोस्रो चरणको चुनावमा चुङको समर्थनले पनि चुनावी परिणामलाई प्रभावित तुल्याउन सक्नेछ ।

मोरालेसलाई चौथो कार्यकालका लागि उम्मेदवार हुन बोलिभियाको संवैधानिक अदालतले सन् २०१७ मा बाटो खोलिदिएको थियो । बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाइने व्यवस्था छ ।

अदालतको नयाँ आदेशबाट उहाँ आगामी सन् २०२५ सम्म शक्तिमा रहन पाउनु हुनेछ ।

ला पाजमा मतदान पछि आफ्ना समर्थकलाई सम्बोधन गर्दै विपक्षी नेता मेसाले चुनावमा धाँधलीको सम्भावना रहेको बताउनुभएको थियो । एएफपी