म्यानचेस्टर सिटीको सहज जित

0
Shares

लन्डन, (एजेन्सी)।इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ।सिटीले क्रिस्टल प्यालेसलाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो। दुवै गोल पहिलो हाफमा भएका थिए।

उक्त जितमा ब्राजिलियन फरवार्ड ग्याब्रियल जेससले सिटीका तर्फबाट ५०औं गोल समेत पूरा गरेको थिए। अर्काे एक गोल भने डेभिड सिल्भाको नाममा रह्यो।घरेलु टोलीलाई दबाबमा राखे पनि सिटीले गोलका लागि ३९औं मिनेट कुर्नुपरेको थियो।

खेलको ३९औं मिनेटमा जेससले बर्नाडो सिल्भाको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए थिए। सिटीका लागि जेससको यो व्यक्तिगत ५०औं गोल हो। उनले १ सय १० खेलमा ५० गोलको आँकडा पार गरेका हुन्।

जेसस २०१७ मा ब्राजिलियन क्लब पाल्मेरसबाट सिटीमा अनुबन्धित भएका थिए।त्यस्तै खेलको ४१औं मिनेटमा रहिम स्ट्रर्लिङको पासमा कप्तान डेभिड सिल्भाले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए।

त्यसपछि दुवै टोलीले पाएको केही मौका खेर फाले पनि सिटी विजयी हुन सफल भयो।
जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दूरी छोट्याएको छ। सिटी ९ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा छ।

एक खेल कम खेलेको शीर्षस्थानको अपराजित रहेको लिभरपुलको २४ अंक छ। पराजित क्रिस्टल प्यालेस १४ अंकसहति छैटौं स्थानमा छ।शनिबारै भएको अर्को खेलमा चेल्सीले न्युक्यासल युनाइटेडलाई १–० ले पराजित गरी ९ खेलबाट १७ अंक बटुलेका छन्।

चेल्सीको जितमा अलोन्सोले खेलको ७३औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बन्यो।
त्यस्तै अन्य खेलमा इभर्टनले वेस्टह्याम युनाइटेडलाई २–० ले हराउँदा लेस्टर सिटीले पनि बर्नलेलाई २–१ ले पराजित गरे।

यसै गरी एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पाखा लगाउँदा टोटेनह्याम र वाट्फोर्डले १–१ तथा बाउर्नमाउथ र नर्विच सिटीले गोलरहित बराबरी खेल्दै अंक बाँडे।