पोखरामा बक्सिङको तयारी

0
Shares

विजय नेपाली, पोखरा।१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि बक्सिङ टोली पोखरा आएको छ। पोखरामा यसअघि बन्द प्रशिक्षणका लागि ह्यान्डबल।

आर्चरी र ब्याडमिन्टन, महिला फुटबल टोलीसँगै पछिल्लो समय बक्सिङ टोली पोखरा आइपुगेको हो। सोमबार मध्यरातमा आइपुगेको टोलीलाई कास्की जिल्ला बक्सिङ संघले मंगलबार बिहान स्वागत गर्दैै पोखरा रंगशालामा उपलब्ध पूर्वाधारसँगै प्रशिक्षण सामग्रीका बारे जानकारी दिइएको थियो।

प्रशिक्षणका लागि पोखरा रंगशालास्थित सेमी कभर्ड हलमा रहेको एकमात्र बक्सिङ रिङमा प्रशिक्षण गराइनेछ। आवश्यक तयारीबिना नै टोली पोखरा आएका छन्। खेलाडीलाई खेल सामग्रीको अभावमै बन्द प्रशिक्षण गर्ने देखिएको छ।

अफिसियल टोलीले यसअघि नै पोखरा रंगशालाको प्रशिक्षणस्थलको अध्ययन गरेर फर्किएको थियो।बक्सिङका लागि चार प्रशिक्षकसँगै १६ खेलाडी पोखरा आइपुगेका हुन् भने केही खेलाडी आउने क्रममा रहेका छन्। आउन बाँकी खेलाडी चीनमा छन्।

महिलातर्फ ४९ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ केजीमा चन्द्रकला थापा र ६० केजी तौलमा संगीता सुनार रहनुभएको छ। त्यसै गरी पुरुष खेलाडीमा ४९ केजीमा शुशील थापा मगर, ५६ केजीमा पुरन राई, ६० केजीमा अनिल शाही, ६४ केजीमा भूपेन्द्र थापा, ६९ केजीमा विकास लामा र ९१ केजीमा आर्जुनसिंह गुरुङ रहनुभएको छ।

मुख्य प्रशिक्षकका रूपमा प्रकाश थापा मगर, वरिष्ठ प्रशिक्षक प्रवीण तुलाधर, प्रशिक्षकमा डम्बरदत्त भट्ट र विदेशी प्रशिक्षक उज्वेकिस्तानका अली शेर हुनुहुन्छ भने। व्यवस्थापकतर्फ प्रमिला राई र प्रमे पौंउजु हुनुहुन्छ।

चीनबाट आउने खेलाडीको सूचीमा महिलातर्फ मिनु गुरुङ (५४ केजी) र पुनम रावल (६४ केजी) हुनुहुन्छ। पुरुषतर्फ तेजबहादुर देउजा (५२ केजी), दीपक श्रेष्ठ (७५ केजी) मनोहर बस्नेत (८० केजी), आशिष दुवाडी (९१ केजीमाथि) रहेको मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी दिनुभयो। उहाँका अनुसार खेलाडीको बिहान र बेलुकी नियमितरूपमा एक महिना प्रशिक्षण पोखरामै हुनेछ।