चितवन टाइगर्स फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।चितवन टाइगर्स कीर्तिपुरमा जारी ओमन्स च्याम्यिन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।आइतबार त्रिवि मैदानमा भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले हराएर चितवन उपाधि निकट पुगेको हो।

टोलीले लगातार चौथो जित हासिल गर्दै जितलाई निरन्तरता दिएको छ। टोलीले १ सय २३ रनको लक्ष्य दिएकोमा विराटनगर १७.५ ओभरमा ६९ रनमा अलआउट भएको थियो।

विराटनगरका लागि ओपनर ज्योति पाण्डेले १९ बलमा ४ चौकासहित २१ रनको योगदान दिइन्। उनीबाहेक पुछारकी डली भट्टले २१ रन जोडिन्।

अन्य भने दोहोरो अंकमा छुन नसक्दा विराटनगरले सहजै हार स्वीकार गर्नुपरेको थियो। चितवनलाई जित दिलाउन कविता गौतमले किफायती बलिङ गरेकी थिइन्। प्लेयर अफ द म्याच कविताले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएकी थिइन्।

त्यस्तै सुमन खतिवडाले २ विकेट लिइन् भने रेखा रावलले एक विकेट हात पारेकी थिइन्। रेखाले ज्योतिको महत्वपूर्ण विकेट लिएकी थिइन्।यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो।

टोलीका लागि ओपनरद्वय काजल श्रेष्ठ र कञ्चन श्रेष्ठले क्रमशः ३६ र ३४ रन जोडे। श्रेष्ठद्वयले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। अन्यमा कप्तान इन्दु वर्माले १७ र सुमनले १० रनको योगदान दिएका थिए।

विराटनगरका बलरमा सवनम राईले २ तथा शर्मिला राना मगर, आरती बिडारी र सोनु खड्काले समान १ विकेट लिए।चितवनको उपाधि भिडन्तमा क्याट क्विन्स काठमाडौं वा विराटनगर प्रतिद्वन्द्वी हुनेछ।

यी टोलीबीच मंगलबार प्रतिस्पर्धा हुनेछ। काठमाडौंले हिजै भएको खेलमा ललितपुर फाल्कनलाई ८ विकेटले हराएको थियो। ललितपुरले दिएको १ सय ६ रनको लक्ष्य काठमाडौंले १६ बल बाँकी राखेर २ विकेटको क्षेतिमा हासिल गरेको थियो।

टोलीको जितमा कप्तान रुविना क्षत्री बेलबासीले कप्तानी ब्याटिङ गरिन्। उनले नटआउट रहँदै ५९ रन बनाएकी थिइन्। उनको ब्याटिङमा ९ चौका र १ छक्का सामेल थिए। यसपछि रोमा थापाले १८ रनको योगदान दिएकी थिइन्।