आरके सिंह, जनकपुर । उपमहानगर जनकपुर धार्मिक शहर त छँदै छ। अहिले प्रदेश २ को राजधानी पनि हो। आधुनिकताले छोप्दै गरेको यही शहरको कपिलेश्वरमा ४० वर्षीया निर्मला मलिक (डोम) को १ धुरमा बनेको दुई कोठे पक्की घर छ। त्यो साँघुरो घरमा उनको परिवारका ८ सदस्य जसोतसो ओत लागेका छन्। सुत्ने ठाउँ त छ तर, पाहुँना थपिए फसाद पर्छ। कहाँ सुताउने र कहाँ बसाउने।
श्रीमान्–श्रीमतीले वर्षौं मेहनत मजदुरी गरेर कमाएको रकमबाट १ धुर जग्गामा उनले इँट्टाको घर बनाएकी छिन्। जग्गा अभावमा साँघुरो ठाउँमै घर ठडाएकी उनको घरमा खुट्टा राख्नसम्मको ठाउँ छैन। ‘छोराछोरी नै ६ जना छन्। उनीहरू पनि हुर्किसके। एउटै कोठामा खाँदखुद गर्न समस्या त छँदै छ। पाहुना आए झनै आपत् पर्छ।’ –उनले भनिन्।
पुख्र्यौली पेसामै लागेकी उनको परिवारमा श्रीमान्लगायत छोराछोरीलाई पनि दिनभरि बाँसको टोकरी, नाङ्लोलगायतका सामग्री बुन्न भ्याईनभ्याई छ। अन्य समुदायसँगै जोडिएर ९ वटा घरधुरी रहेको डोम समुदायको बस्ती छ। तर बस्तीमा खानेपानीका लागि न चापाकल छ न त शौचालय। बस्ती छेउमै रहेको मन्दिरको चपाकलबाट उनीहरू पानी भरेर ल्याउँछन्।
तर सदियौंदेखि छुवाछुतको पीडाले डोम समुदाय प्रताडित भएका छन्। ‘ठूला जातका मान्छेहरूले दुई वर्षअघि भाँडावर्तन नै फालिदन्थे। तर अहिले पानी लिन जाँदा गाली गर्छन्। तिमीहरू परै बस भन्छन्’, स्थानीय भोला मलिकले भने– ‘गल्तीले पनि बच्चाहरूले कसैको भाँडोमा छोए भने ठूला जातका मान्छेहरू पिट्नै खोज्छन्।’ ठाउँ अभावमा उनीहरू बाँसका सामग्री बुन्ने काम घर आँगनमै गरे पनि बाँस सडकमै काट्ने र चिर्नुपर्ने बाध्यता छ।
तर काम गर्ने बेला कसैको जिउमा नछोइयोस् भन्ने चिन्ताले मन कामिरहन्छ। ‘बाँस काट्ने र चिर्ने काम घरभित्र सम्भव छैन, सडकमा गल्तीले पनि कसैको जिउमा छोयो भने गाली गर्छन्।’ –स्थानीय सतीया मलिकले सुनाइन्।
कसैलाई आर्थिक अभाव छ भने कसैलाई घरबाहेक रतिभर जग्गासमेत खाली नरहेकाले ती डोम समुदाय कसैको घरमा शौचालय छैन।
‘शौचालय कहाँ बनाउने हामी। बाहिर सरकारी जग्गामा दिसा गर्न जाँदा स्थानीयले लखेट्छन्।
सरकारी जग्गामै दिसा गर्दा पनि दिनभरि हामीलाई यहाँका मान्छेहरूले गाली गर्छन्’, निर्मला मलिकले भनिन्– ‘चुनावको बेला वडाध्यक्षले शौचालय बनाइदिने, कल गाडिदिने वाचा गरेर गएका थिए। तर केही गरिदिएनन्। हामी शौच गर्न कहाँ जाने ?’
आर्थिक तथा शैक्षिक रुपले विपन्न रहेको डोम समुदायको बस्तीमा कसैको घरमा शौचालय छैन्। ‘एक छाक कम खाएर पनि शौचालय बनाउन र कल गाड्न भन्छन् तर हामीलाई ठाउँ पनि छैन पैसा पनि छैन। कहाँ बनाउने ? कहाँबाट पैसा ल्याउने ?’, स्थानीय ममता मलिक प्रश्न गर्छिन्– ‘खुलामा शौच गरेपछि ५ हजार जरिवाना लाग्ने भन्छन् हामी कहाँबाट तिर्ने ?
बच्चालाई भोकै राखेर हुन्छ ?’ चियापसल, किराना पसलदेखि लिएर हाट बजारमा तरकारी छँुदा कथित ठूला जातका मान्छेहरूबाट हप्कीदप्की सुन्नुपरेको उनीहरूको गुनासो छ।
छुवाछुतले विद्यालयबाट वञ्चितछुवाछुतकै कारण छेउमै रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा बालबालिका पढ्न जान नमानेको डोम समुदायका अभिभावक बताउँछन्।
कक्षामा विद्यार्थीका साथै शिक्षकले समेत विद्यार्थीको जिउमा नछुएर टाढै बस्न भन्दै हप्काउने गरेको अभिभावकको गुनासो छ। ‘जिउमा छोयो भने शिक्षकले गाली गर्छन्। ऐ डोम्बा तिमी कुनामा बस भन्छन्। शिक्षकले डोम समुदायका विद्यार्थीको मुख नै हेर्न चाहँदैन्। त्यसैले विद्यार्थी विद्यालय जान मानन्दैनन्’ –अभिभावक लीला मलिकले भनिन्।
छेउमा रहेको विद्यालयमा पढाइ समेत राम्रो नहुने र शिक्षकको समेत हप्कीदप्कीका कारण बच्चाहरूलाई दुई किलोमिटर टाढा रहेको बाल मन्दिर विद्यालयमा जानुपर्ने भएकाले बच्चालाई विद्यालय नपठाएको स्थानीय बिना मलिकले सुनाइन्। ‘चर्को घाम हुन्छ। सडकमा जथाभावी गाडीघोडा चल्छन्।
ज्यानै जोखिममा राखेर बच्चालाई त्यती टाढा विद्यालय कसरी पठाउने ?,’ ‘उनले भनिन्– ‘घाममा आउजाउ गरेपछि बच्चा बिरामी पर्छ। दबाई गराउन पैसा कहाँबाट ल्याउने ? सबै पैसा दबाईमै लगायो भने के खाने, लगाउने ?’ समुदायिक विद्यालयले निःशुल्क पढाउने गरेको भने पनि नाम लेखाउन, पोसाक किन्न र परीक्षा फि तिर्न सक्ने अवस्था नरहेकाले पनि छोरीलाई विद्यालय पठाउन नसकेको निर्मलाले बताइन्।
मन्दिरभित्र प्रवेशमा रोक
छेउमै रहेको मन्दिर परिसरमा समेत दुई वर्षअघि डोम समुदायलाई जान निषेध गरिएको थियो। तर सञ्चारमाध्यमका साथै विभिन्न संघसंस्थाहको पहलमा त्यहाँ जनचेतनामूलक कार्यक्रम सञ्चालन गरियो। त्यसपछि उनीहरूलाई मन्दिरको परिसरसम्म छिर्न अनुमति दिएको निर्मला मलिकले बताइन्।
तर मन्दिरभित्र भने डोम समुदायका साथै अन्य दलित समुदायका व्यक्तिलाई अझै निषेध गरिएको उनको भनाइ छ। डोम समुदायले सदियौदेखि भोग्दै आएको छुवाछुतको पीडा सधैंभरि खेप्नुपर्ने उनले बताइन्। जनप्रतिनिधिदेखि लिएर शिक्षित वर्गले छुवाछुत मान्ने गरेको स्थानीयले बताए।
प्रतिक्रिया