प्रचण्डको गुनासोः ओलीले धोकाको राजनीति गर्न खोजे


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट आफुले धोका भएको गुनासो गरेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गर्न थालेपछि यस्तो संकेत देखिएको हो ।

दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोख्ने गरेको नेकपाका एक नेताले बताए । पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष सशंकित भएको खबरहरु पनि पत्रपत्रिकामा छापिन थालेपछि पार्टीभित्रै पनि चियोचर्चो सूरु भएको बुझिएको छ ।

समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्व एमाले समूह पनि असन्तुष्ट देखिन्छ। दुई अध्यक्ष मिलेर आलोपालो सरकाार चलाउने सहमति गरेकोमा तत्कालिन एमालेका पक्षधरबाट त्यस्तो कुनै छाँटकाँट नदेखिएपछि प्रचण्डले सचिवालय सदस्यहरुसँग छलफल समेत सुरु गर्न थालेको स्रोत बताउँछ ।

दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए। नेपाल र गौतमबीच धोकाको राजनीति गर्न नहुने विषयमा पनि कुराकानी भएको स्रोतको दाबी छ ।