आलममाथि अनुसन्धान गर्न अझै ७ दिनको म्याद माग्दै प्रहरी


न्युज अफ नेपाल, रौतहट ।

हत्याको आरोपमा पक्राउ परेका मोहम्मद आफताब आलममाथि अनुसन्धान गर्न प्रहरीले अझै सात दिनको म्याद थप्न माग गर्दै रौतहट जिल्ला अदालत पुगेको छ ।

यसअघि मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गरेको थियो । अदालतले यसअघि दिएको समय अपुग भएकाले प्रहरीले आलमलाई फेरि म्याद थप्न माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो।

उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन्।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ।

आलम अदालतबाट दोषी ठहर भए उनी निलम्बनमा पर्नेछन्।